• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सुरक्षा कवच नभएपछि कोरोना संक्रमितको परिवारलाई एम्बुलेन्स चालकले बोक्न मानेनन्

कैलाली । कुनै पनि एम्बुलेन्स चालकले कोरोना भाईरसबाट संक्रमित व्यक्तिका परिवारलाई बोक्न नमान्दा प्रहरी मध्यराति रित्तै फर्किएको छ ।

कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका व्यक्ति संक्रमित रहेको पुष्टि भएपछि शुक्रवार साँझ प्रहरी उनका परिवारजनलाई लिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थित घरमा पुगेको थियो ।

प्रहरी संक्रमितका परिवारका सबै सदस्यलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राख्न लिन गएको थियो । स्रोतका अनुसार संक्रमितका परिवारका सदस्य रहेको थाह पाएपछि कुनैपनि एम्बुलन्स चालक उनीहरुलाई लिन जान आउन तयार भएनन् ।

प्रहरीले मध्यरातिसम्म एम्बुलेन्स चालकहरुलाई उनीहरुलाई ल्याएर अस्पताल ल्याउन निकै आग्रह गरेको थियो । तर प्रहरीको आग्रह कुनै चालकले मानेनन । एम्बुलेन्स चालकले उनीहरुलाइ ल्याउन नमानेपछि प्रहरीको टोली राति करीव १२ बजे फर्केको थियो ।

एम्बुलेन्स चालकहरुले सुरक्षा कवच नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका हुन् । संक्रमित सेती प्रादेशिक अस्पतालमा छन् । घरमा उनका बुवा आमा, दाजु भाउजु, भतिजी, उनकी पत्नी र छोरी सहित आठ जना छन् ।

एम्बुलेन्स चालकले उनीहरुलाई नमानेपछि प्रहरीले पैदल अस्पताल ल्याउने कोसिस गरेको थियो । तर परिवारका सदस्यले मानेनन । उनीहरुलाई अस्पतालमा ल्याउन नसकिएपछि प्रहरीले घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट चैत ६ गते दुबईबाट दिल्ली आएका उनी त्यहाँबाट ७ गते शुक्रवार काठमाण्डौं पुगेका थिए । काठमाण्डौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले बिमानस्थलमा रहेको बुद्ध काउण्टरबाट टिकट काटेका थिए । दिउसो १२ बजेको बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका उनी त्यहाँबाट बस चढेर धनगढी आएको बताइएको छ ।

एउटै उडानबाट उनीसंगै दुबईबाट आएका उनका साथी यतिबेला बिराटनगर छन् । कोरोनाको लक्षण देखिएपछि उनी काठमाण्डौंबाट आएको तीनदिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए ।

त्यही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए । आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । हिजो उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर