• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

वुहानदेखि न्युयोर्कसम्म कोरोना : कहिले, कहाँ, के-के भयो ?

काठमाडौं । जोन्स होप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, कोभिड–१९ नाम दिइएको नोबेल कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म विश्वभर ३० हजार ८८० जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ९२४ जना संक्रमित र एक लाख ४२ हजार १८४ जना निको भएका छन् । 

पछिल्लो साताको तथ्यांकलाई हेर्दा यतिबेला कोभिड–१९ को एपिसेन्टर अमेरिका हुन पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १६ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएसँगै कुल संक्रमितको संख्या एक लाख१८ हजार २९२ पुगेको छ भने २ हजार २२७ जनाको मृत्यु भइसकेको छ । त्यसपछि कोरोनाको सबैभन्दा प्रभावित देशमा क्रमश इटाली, स्पेन र चीन, फ्रान्स र इरान छन् । 

कोभिड–१९ को उद्गम स्थल वुहानः
गत वर्ष सन् २०१९को डिसेम्बर ३१ मा चीनले आफ्नो हुबेई प्रान्तको राजधानी वुहानमा एक अज्ञात भाइरसबाट दर्जनौँ बिरामी परेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)लाई सुचित गरायो । साउथ चाइना मर्निङ पोष्टको एक रिपोर्ट अनुसार, चीन सरकारले नयाँ भाइरसलाई लिएर आपतकालीन घोषणा गरेको एक साताअघि नोभेम्बर १७ मै कोभिड–१९ देखिएको थियो ।  हुबेईका एक ५५ वर्षीय व्यक्ति नै कोभिड–१९ को पहिलो संक्रमित व्यक्ति भएको बताइएको छ । त्यसको एक महिनापछि अन्य पाँच जनामा सोही लक्षण देखियो र २० डिसेम्बरसम्मा यस नयाँ भाइरसबाट संक्रमितको संख्या ६० पुग्यो । 

यी मध्ये केही संक्रमित कार्यरत रहेको वुहानको ‘हउनान सिफूड होलसेल’ बजार १ जनवरीबाट बन्द गरियो । चीनले स्वास्थ्य विशेषज्ञको एक टोलीलाई वुहानमा नयाँ भाइरसको खतराका बारेमा अध्ययन गर्न पठायो । उनीहरुले जनवरी ५ मा उक्त संक्रमितमा सार्स महामारीका बेला देखिएको लक्षण देखिएको बताए । त्यसको दुई दिनपछि नयाँ भाइरसको संक्रमण बढेको चिनियाँ अधिकारीहरुले डब्ल्युएचओलाई बताए । 

सामान्य रुघाखोकी र सार्ससँग मिल्दो लक्षण कोरोना भाइरस समूहकै एक भाइरसको संक्रमणका कारण भएको डब्ल्युएचओले बतायो । विशेषगरी चमेराबाट यो भाइरस मानिसमा सरेको अनुमान लगाइयो । यद्यपि, पछिल्ला अध्ययनहरुले चीनमा औषधीको रुपमा प्रयोग हुने सालकको खपटामा यस भाइरससँग मिल्दोजुल्दो भाइरस भेटिएको बताइएको छ । 

कोरोना भाइरस संक्रमित व्यक्तिको नजिक जाँदा वा संक्रमित व्यक्तिले हाच्छुयु तथा खोक्दा निस्कने छिटाको माध्यमबाट सर्ने पत्ता लाग्यो । श्वासप्रश्वास, आँखा तथा कान हुँदै फोक्सोसम्म पुगेर सबैभन्दा पहिला फोक्सोमै आक्रमण गर्ने बताइयो । यसरी कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको र तीव्र गतिमा फैलिने तथ्यहरु बाहिर आए । यस भाइरस फैलिनुमा चिनियाँहरुको अनौठो खानापान र जंगली जनावरको काँचो मासु खाने प्रवृत्ति कारण भनी आलोचना पनि गरियो । 

११ जनावरीमा यस नयाँ भाइरसबाट पहिलो व्यक्तिको मृत्यु भएको चीनले घोषणा गर्यो. । मृतक ६१ वर्षीय पुरुष थिए । उनले सामुन्द्रि खाद्यान्न बजारबाट खानेकुरा ल्याएका थिए । उनको स्वास्थ्यमा सुधार नदेखिएको र ९ जनवरीमा हृदयघातबाट मृत्यु भएको बताइयो । 

चीनबाहिर कहिले र कसरी फैलियो ?
विश्व स्वास्थ्य संगठनले १३ जनावरीमा चीनबाहिर थाइल्याण्डमा पहिलो संक्रमित भेटिएको पुष्टि गर्यो । पहिलो संक्रमित पुष्टि भएकी महिला वुहानबाट फर्किएको पत्ता लाग्यो । त्यसैगरी १६ जनावरीमा जापानको स्वास्थ्य मन्त्रालयले पहिलो संक्रमित पुरुषको पुष्टि गर्यो । उक्त व्यक्ति पनि वुहानबाट फर्किएको पत्ता लाग्यो   । 

जनवरी १७ मा वुहानमा दोश्रो संक्रमित व्यक्तिको मृत्यु भएपछि अमेरिकाले आफ्ना तीन विमानस्थलमा आगमन कक्षमा स्क्रिनिङ सुरु गरेको घोषणा गर्यो । त्यसपछिका दिनमा, अमेरिका, नेपाल, दक्षिण कोरिया, भियतनाम, अष्ट्रेलिया, फ्रान्स, मलेसिया, सिंगापुर लयात देशमा संक्रमित देखिन थाल्यो । यद्यपि, धेरैजसो देशमा पहिलो संक्रमित वुहानबाटै आएको तथ्यांकले देखाउँछ । 

अमेरिकामा पहिलो संक्रमित कहिले भेटियो ?
२१ जनवरीमा अमेरिकामा पहिलो कोरोना संक्रमित भेटियो । १५ जनवरीमा चीनको वुहानबाट फर्किएका वासिंटन राज्यका एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भयो । यसको अघिल्लो दिन चीनमा तेश्रो संक्रमितको व्यक्तिको मृत्यु भयो र राजधानी बेइजिङ, शांघाई र शेन्फन लगायत सहरमा दुई सयभन्दा बढी संक्रमित पुगे ।

यसबीच चिनियाँ स्वास्थ्य विशेषज्ञले नोबेल कोरोनाभाइरस मान्छेबाट मान्छेमा सर्ने बताए र चीनको लुनार नयाँ वर्षमा यसबाट लाखौँ संक्रमित हुनसक्ने चेतावनी दिए । 
एसियाली देशहरुले विमानस्थलमा मानिसको तापक्रम नाप्ने विशेष प्रकारको स्क्रिनिङ लगान थाले । 

२२ जनवरीमा चीनमा मृतकको संख्या एक्कासी बढेर १७ पुग्यो र ५५०भन्दा बढी संक्रमित पुगे । उहानमा रेल तथा हवाई यात्रा प्रतिबन्ध लगाई प्रभावकारी क्वारेन्टाइन स्थापना गरियो । २५ जनवरीबाट सुरु हुने चीनको लुनार नयाँ वर्षका लागि आयोजना गरिएका कार्यक्रमहरुलाई रद्दको घोषणा गरियो ।

२४ जनवरीमा चीनमा मृतकको संख्या २६ र संक्रमितको संख्या ८३० पुग्यो । हुबेईमा १३ वटाभन्दा बढी सहरहरु लकडाउन गरियो, जसमा ४१ लाख मानिस प्रभावित बने । चीनले भीडभाड हुने तथा पर्यटकीय स्थलहरु बन्द गर्न थाल्यो । हङकङले चीनबाट आगमन प्रतिबन्ध गर्दै आपतकालीन् घोषणा गर्यो । 

२७ जनवरीमा चीनमा भाइरका कारण मृत्यु हुनेको संख्या १०६ पुग्यो भने संक्रमित ४ हजार ५१५ पुगे, जसमा २ हजार ७१४ हुबेई प्रान्तका मात्रै थिए । विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा कोरोनाभाइरसलाई विश्वव्यापी आपतकाल घोषणा गर्यो, जतिबेला चीनमा १७० को मृत्यु भइसकेको थियो भने ७ हजार ७११ संक्रमित पुगिसकेका थिए । त्यसपछि भारत र फिलिपिन्सले पहिलो संक्रमित भेटिएको पुष्टि गरे  । 

युरोप पुग्यो कोरोनाभाइरसः
३१ जनवरीमा चीनमा संक्रमितको संख्या १० हजार नजिक पुग्यो । यही दिन रुस, स्पेन, स्विडेन र बेलायतमा पहिलो संक्रमितको पुष्टि भयो । फेब्रुअरी १ मा चीनमा २५९ जनाको मृत्यु हुनका साथै ११ हजारभन्दा बढी संक्रमित पुगे । त्यसैगरी, अष्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, सिंगापुर, अमेरिका, दुबई र भियतनाममा नयाँ संक्रमित भेटिए । 

फेब्रुअरी ३ मा चीनमा मृतकको संख्या ३६१ पुग्यो भने संक्रमितको संख्या १७ हजार नाघ्यो । त्यसपछि, हङकङमा कोरोना संक्रमित पहिलो व्यक्तिको मृत्यु भयो भने बेल्जियममा पहिलो संक्रमित पुष्टि भयो, जो वुहानबाट फर्किएका थिए । ५ फेब्रुअरीमा वुहानबाट अमेरिकाले आफ्ना नागरिकको उद्धार गर्यो र डब्ल्युएचओलो नोबेल कोरोनाभाइरसको कुनै प्रभावकारी उपचार नभएको बतायो । 

फेब्रुअरी ६ सम्म आइपुग्दा युरोपमा संक्रमितको संख्या ३० पुगेको थियो चीनमा कम्तिमा ५ सयको मृत्यु भइसकेको थियो भने २८ हजारभन्दा बढी संक्रमित भइसकेका थिए । ७ फेब्रुअरीमा कोरोनाभाइरसको चेतावनी दिएका चिनियाँ डाक्टर लि विन्लिआङको मृत्यु भयो । यी डाक्टरको चेतावनीलाई दबाउन खोजेको भन्दै चीनले निक्कै आलोचना खेप्यो । 

८ फेब्रुअरीमा एक अमेरिकी नागरिकको वुहानमा मृत्यु भयो । त्यसैगरी, यही दिन एक ६० वर्षीय जापानी नागरिकको पनि मृत्यु भएको जापानको परराष्ट्रमन्त्रालयले बतायो । ११ फेब्रुअरीमा डब्ल्युएचओले नोबेल कोरोना भाइरसलाई ‘कोभिड–१९’ नाम दियो । 

त्यसको भोलिपल्ट, जापानको योकोहामास्थित डायमन्ड प्रिन्सेस क्रु्ज सिपमा यात्रा गरिरहेका १७५ यात्रुमा कोरोना संक्रमण भेटिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो । यता चीनमा मृततको संख्या एक हजार ११३ पुगेको थियो । 

फेब्रुअरी १४ मा अफ्रिकी महाद्धीपमा पहिलो कोरोना संक्रमित इजिप्टमा पुष्टि भयो र युरोपमा पहिलो संक्रमित फ्रान्समा भेटियो । यसको भोलिपल्ट अमेरिकाले जापानी क्रुजसिपमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी क्वारेन्टनमा राख्ने तयारी सुरु गर्यो । 

१७ फेब्रुअरीसम्म आइपुग्दा जापानमा संक्रमितको संख्या ९९ पुग्यो, भने ताइवानमा पहिलो संक्रमितको मृत्यु भयो र चीनमा मृतकको संख्या झण्डै १८ सय पुग्यो । त्यसपछि, रुसले २० जनवरीबाट चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध गर्यो । 

फेब्रुअरी १९ मा इरान र २० मा दक्षिण कोरियामा पहिलो संक्रमितको मृत्यु पुष्टि भयो । यसको भोलिपल्टै दक्षिण कोरियामा दोश्रो संक्रमित मृत्यु भयो । यतिबेलासम्म इटालीमा संक्रमितको संख्या ६ मात्रै थियो भने दक्षिण कोरियामा संक्रमितको संख्या ह्वात्तै बढ्यो । 

इटालीमा पहिलो कोरोना संक्रमित मृत्युः
फेब्रुअरी २२ मा इटालीमा पहिलो कोरोना संक्रमितको मृत्यु भएको पुष्टि हुँदा इरानमा मृतकको संख्या ५ पुगिसकेको थियो । त्यसको भोलिपल्ट इटालीमा मृत्यु हुनेको संख्या तीन पुग्यो । त्यसपछि इटालीमा भेनिस कार्निभल र खेलकुदका कार्यक्रम स्थगित गरियो । यतिबेलासम्म, दक्षिण कोरियामा संक्रमितको संख्या बढेको बढै थियो भने चीनमा मृत्यु हुनेको संख्या २६ सय पुगेको थियो भने संक्रमित ७७ हजार नाघ्यो ।  र २४ फेब्रुअरीमा इटालीमा सातौँ संक्रमितको मृत्यु भयो ।  

२५ फेब्रुअरीमा इरानका उपस्वास्थ्यमन्त्रीमा कोरोनाभाइरस संक्रमण भेटिएको पुष्टि भयो । यतिबेलासम्म इरानमा ९५ संक्रमित र १५ मृत्यु भइसकेको थियो । यसबीच, चीनमा दिनमा ५ सयको दरले नयाँ कोरोना संक्रमित पुष्टि भइरहेको थियो । दक्षिण कोरियामा झण्डै एक हजार पुगिसकेको थियो भने यूरोपमा कोरोना एपिसेन्टर बनेको इटालीमा यतिबेला जम्मा २२९ संक्रमित मात्रै थियो । 

२६ फेब्रुअरीसम्म आइपुग्दा विश्वभर दुई हजार ८ सयको मृत्यु भएको थियो भने संक्रमित संख्या ८० हजार मात्रै थियो । यही दिन रोमानिया, नर्वे, ग्रिस, जर्जिया, पाकिस्तान र ब्राजिल लगायत देशमा पहिलो कोभिड–१९ संक्रमित भेटियो । त्यसको भोलिपल्ट इस्टोनिया, डेनमार्क, उत्तरी आयरल्याण्डमा पनि पहिलो कोरोना संक्रमित भेटिएको पुष्टि भयो । 

२७ फेब्रुअरीमा इटालीमा संक्रमितको संख्यामा एक्कासी वृद्धि भयो र ६५० पुग्यो र १७ मृत्यु पुष्टि भयो । यसबीच अमेरिकी प्रशासनमा रक्षा सम्बन्धी कानुन पारित गर्नेबारे छलफल भइरहेको थियो, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका लागि प्रमुख उत्पादनका औद्योगिक उत्पादनको विस्तार गर्ने आधार प्रदान गर्थ्यो । 

अमेरिकामा २८ फेब्रुअरीमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको थियो । त्यसपछि, ट्रम्प प्रशासनले कोरोना प्रभावित देशबाट यात्रा नगर्न चेतावनी दियो । 

इरानमा तीव्र गतिमा फैलियोः
मार्च ७ सम्ममा विश्वका ९० देशमा ३ हजार ५ सयको मृत्यु हुनका साथै एक लाख दुई हजार संक्रमित पुगे । यस समय मध्यपूर्वी देश इरान कोरोनाबाट निक्कै प्रभावित देखियो, जहाँ संक्रमितको संख्या ४ हजार ७४७ पुगेको थियो भने मृतकको संख्या १२४ पुग्यो । मृत्यु हुनेका सांसद फतेमेह रहबार थिए । 

१३ मार्चमा अमेरिकी राष्ट्रपतिले देशव्यापी आपतकाल घोषणा गर्दै ५० बिलियन डलरको संघीय कोष जम्मा गर्ने घोषणा गरे । उनले कोरोनाभाइरसँग लड्न अस्पताल तथा चिकित्सकहरुलाई अझ बढी सुविधा दिने बताए ।

१५ मार्चसम्म आइपुग्दा स्पेनमा २४ घण्टामा दुई हजार नयाँसहित ७ हजार ७ सय संक्रमित र नयाँ एक सयबढीसहित मृत्यु हुनेको संख्या २८८ पुग्यो । यतिबेलासम्म इरानमा १५ हजार संक्रमित र ८ हजार ५३ जनाको मृत्यु भयो भने टर्की र पाकिस्तानमा संक्रमितको संख्या बढ्यो । 

यसबीच, अमेरिकामा संक्रमितको संख्या बढ्दै गएपछि न्यूयोर्कका मेयर बिल दि ब्लासियोले सहरका बार, नाटकघर र सिनेमा हल बन्द गर्न आदेश दिए । ५० जनाभन्दा बढी जम्मा नहुन भन्दै ट्रम्पले भिडभाडमा नजान सल्लाह दिए ।

त्यसपछि इटाली बन्यो कोरोनाको एपिसेन्टरः
१७ मार्चमा इटालीमा कोरोना संक्रमितको मृतकको संख्यामा एक्कासी वृद्धि भयो । २४ घण्टामा १६ प्रतिशत बढेर मृतकको संख्या २ हजार ५०३ पुग्यो भने संक्रमितको संख्यामा १२.६ प्रतिशत बढेर २७ हजार ९८० पुग्यो । यसको भोलिपल्ट इटालीमै नयाँ ४७५ मृत्यु दर्ता भयो । यही दिन चीनमा कोरोना भाइरस फैलिन सुरु भएयता पहिलो पटक नयाँ संक्रमित भेटिएन । यही दिन फ्रान्स लकडाउनमा गयो, जहाँ साढे ६ हजार संक्रमित र १४० मृत्यु भएको थियो ।

१९ मार्चमा आइपुग्दा इटालीले चीनलाई पछि पार्दै ३ हजार ४०५ मृत्यु दर्ता गर्यो जहाँ चीनमा मृतकको संख्या ३ हजार २४५ थियो । उता स्पेनमा पनि मृत्यु हुने र संक्रमितको संख्यामा २५ प्रतिशतले बढिरहेको थियो । 

२० मार्चमा विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो । यस दिन जर्मनी र स्पेनमा मृतक र संक्रमितको संख्या बढ्यो । यता चीनमा नयाँ संक्रमित नभेटिएको दोश्रो दिन भएको थियो । 

इटालीमा २९ जनवरीमा दुई चिनियाँ पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरुलाई तत्कालै क्वारेन्टाइनमा राख्यो । तर कोरोनाको थप संक्रमण देखिन थाल्यो । 

अब कोरोनाभाइरसको एपिसेन्टर अमेरिकाः
नो
वेल कोरोनाभाइरस ‘कोभिड–१९’बाट विश्वभर १९९ वटा देश प्रभावित बनेका छन् । सबैभन्दा बढी मृत्यु हुने देशमा इटाली छ, जहाँ मृत्यु हुनेको संख्या १० हजार २३ जना पुगेको छ भने दोश्रो स्थानमा अर्को युरोपेली देश स्पेन छ, जहाँ मृतकको संख्या ५ हजार ९८२ पुगेको छ । त्यस्तै तेश्रो स्थानमा चीन ३ हजार ३०० छ भने चौथो स्थानमा इरान छ ।

इरानमा २ हजार ५१७ छ भने पाँचौँ स्थानमा रहेको फ्रान्समा आइतबारसम्म २ हजार ३१४ जनाको मृत्यु भएको छ र त्यसपछि अमेरिकामा २ हजार २२७ जनाको मृत्यु भएको छ । त्यसपछि बेलायमा मृत्यु हुनेको संख्या एक हजार १९ पुगेको छ भने संक्रमित संख्या १५ हजार भन्दा बढी छ ।  यद्यपि, अब अमेरिकाले मृत्यु दरमा चीन, फ्रान्स, इरान र बेलायतलाई पछि पार्ने देखिन्छ ।

पछिल्लो २४ घण्टाको विवरणलाई हेर्दा इटालीमा एकै दिनमा ९ सय बढीको मृत्यु भएको छ भने स्पेनमा ७६९ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या एक लाख १८ हजार २९२ पुगेको छ, जसमा २५ सयभन्दा बढी गम्भिर अवस्थामा रहेको बताइएको छ । अमेरिकामा तीन दिनयता संक्रमितको संंख्यामा बुलेट ट्रेनभन्दा छिटो गतिमा बढेको बताइएको छ । तर मृत्यु दर भने अमेरिकामा कम छ ।

अमेरिकामा संक्रमितको संख्या वृद्धि विश्वको अन्य कुनै देशको तुलनामा उच्च बनेको छ । यीमध्ये आधा संक्रमित न्यूयोर्कका रहेका छन् । केहि दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनले अमेरिका कोभिड–१९ महामारीको नयाँ एपिसेन्टर बन्ने सम्भावना रहेको चेतावनी दिएको थियो । कोभिड–१९ को उद्गम स्थल मानिएको चीनमा सुरुका केही सातामा अत्याधिक संक्रमितको संख्या बढ्यो तर २० फेब्रुअरीबाट विस्तारै कम हुँदै गयो । 

यसबीच, राष्ट्रपति ट्रम्पले शुक्रबार एक सय दिनमा एक लाख वटा भेन्टिलेटर बनाउने बताए । उनले व्हाइाट हाउसका सहयोगी पिटर नभारोलाई रक्षा उत्पादन एक्टको समन्वयकको रुपमा निर्वाचित गरेको बताए । त्यस्तै, अमेरिकामा कोभिड–१९ का संक्रमित बढ्दै जाँदा यस महामारी विरुद्ध लड्न ट्रम्पले २० खर्ब डलर आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । यो अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो ।

यसबीच, विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा अचानक बेरोजगारीको संख्या बढेको छ । ३० लाख व्यक्तिले बेरोजगारीको सूचीमा आफुलाई दर्ता गराएका छन् । यो तथ्यांकले अमेरिकी अर्थव्यस्था गहिरो संकटमा गइरहेको देखाएको छ । लकडाउनका कारण कारोबारलाई अस्थायी बन्द मात्र नभई लाखौं अमेरिकी बेरोजगार भएका छन् । अमेरिकाले तत्काल आवश्यक सावधानी नअपनाए बेरोजगारी, आर्थिक संकटसँग सँगै मानवीय क्षति बेहोर्ने निश्चित छ । 

सोही गंभिरतालाई मध्यनजर गरेर हुनुपर्छ सुरुमा चिनियाँ भाईरस भनेर खिल्ली उडाएको राष्ट्रपति ट्रम्पले २८ तारिक चिनियाँ राष्ट्रपति सी संग टेलिफोन बार्ता गरे । बार्ता लगत्तै ट्रम्पले गरेको ट्विीट बडो चर्चित भयो । जहाँ उनले कोरोना भईरसले अमेरिकालाई गाँजेको प्रशंग उठाउदै यसका विरुद्ध चीनसँग सहकार्य गर्ने उल्लेख गरेका थिए ।

एक साताका बीचमा राष्ट्रपति ट्रम्पमा देखिएको यो बदलावलाई विश्वभरी नै चासोका साथ हेरियो । कतिपयले ट्रम्पको स्थानमा अमेरिकामा राष्ट्रपछि बाराक ओबामा भएको भए अवस्था यति भयावह हुने थिएन भन्दै ट्रम्पको सन्काहा स्वभावको खिल्ली उडाए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर