• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अमेरिका र ब्रिटिस लाइब्रेरीका रेकर्डमा पनि भेटियो कालापानी क्षेत्र नेपालकै रहेको प्रमाण

काठमाडौं । भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे । चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी । ‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस ग¥यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो, त्यसैले सहमति हुन सकेन ।’

तत्कालीन सरकारले कालापानीको विषयलाई महत्वपूर्ण एजेन्डाका रूपमा प्रस्तुत गर्ने कार्यादेश दिएको थिएन । त्यसैले कालापानी मुद्दा लामो समयसम्म छायामा पर्यो । तर, नापी विभागबाट अवकाश पाएपछि बुद्धिनारायण सरकारी ढर्राबाट पनि स्वतन्त्र भएका थिए । उनले आफैँ भूमिचित्र नाप–नक्सा कम्पनी स्थापना गरे । त्यहीँबाट उनी नापीसम्बन्धी महासंघको कार्यक्रममा सहभागी हुन लन्डन जाने मौका पाए । सन् १९९८ जुलाई १९ देखि अगस्ट २१ सम्म लन्डन रहँदा श्रेष्ठले सहर–बजार घुम्ने र सपिङ गर्ने समयलाई ब्रिटिस लाइब्रेरी गएर अध्ययनमा सदुपयोग गरे । विशाल लाइब्रेरीमा कैयौँ दिन लगाए, अन्ततः उनले सन् १८५६ अप्रिल २४ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सा फेला पारे । सो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई रिभर काली भनिएको छ । नेपाललाई निपाल भनिएको सो नक्सामा अहिले पनि सुरक्षित छ ।

एक वर्षपछि सन् १९९९ मे १० देखि जुन २५ सम्म अमेरिका पुगेका सीमाविद् श्रेष्ठले वासिङटन डिसीस्थित लाइब्रेरी अफ कंग्रेसको भ्रमण गरे । उनले लाइब्रेरीको जोग्राफी एन्ड म्याप डिभिजनमा रहेको नक्सा प्राप्त गरे, जो १८२७ मा ब्रिटिस भारतले प्रकाशित गरेको थियो । बेलायती संसद्अन्तर्गत इस्टइन्डिया कम्पनी सरकारका जलविज्ञानविज्ञ लेन्स होस्र्टले तयार पारेको यो नक्सामा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई नै रिभर काली भनेर लेखिएको छ । सुगौली सन्धिअनुसार काली नदी सीमानदी भएकाले त्योभन्दा पश्चिम भारत र पूर्व नेपाल हो भन्ने स्पष्ट हुन्छ ।

यी दुवै नक्सामा काली नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो । अमेरिका र लन्डनमा भेटिएका नक्साका आधारमा बुद्धिनारायणले निष्कर्ष निकाले, ‘लिम्पियाधुराबाट बग्ने नदी काली नदी हो । नेपालको पश्चिम सीमारेखा पनि त्यही हो ।’ ०५७ मा उनले नेपालको सिमानानामक पुस्तक प्रकाशित गरे, जसले मदन पुरस्कार पनि पाएको थियो । तर, उनी किताबबाट जनता जागृत गराउन मात्र होइन, नेपालको नीतिमा पनि हस्तक्षेप गर्न चाहन्थे ।

अमेरिकाबाट फर्केपछि बुद्धिनारायणले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रस्तुतीकरण गर्ने मौका पाए । बालुवाटारमा ओभरहेड प्रोजेक्टरबाट श्रेष्ठले प्रधानमन्त्री भट्टराईलाई लाइब्रेरी अफ कंग्रेसले छाप लगाएर दिएको नक्सासहित प्रस्तुति दिए । कार्यक्रममा ६ जना मन्त्री र सचिव, कांग्रेस नेता सुशील कोइराला, प्रधानमन्त्रीका मुख्य सल्लाहकार डा। नारायण खड्का र नापी विभागका उच्च अधिकृतद्वय राजाराम छतकुली र तीर्थ प्रधानांग पनि बालुवाटारमा सहभागी थिए ।

आफ्नो प्रस्तुतिबाट प्रधानमन्त्रीलाई जागृत गराउन पाएकोमा बुद्धिनारायण सन्तुष्ट थिए । ‘म यो विषयमा गम्भीर छु, आवश्य कदम चाल्छु भनेर भट्टराईले भन्नु पनि भएको थियो, तर उहाँले राजनीतिक कारणले दुई सातापछि नै राजीनामा दिनुपर्यो  यो,’ सम्झेर बुद्धिनारायण दुःखी हुन्छन् । तर, जो सरकारमा आए पनि दस्ताबेज बुझाउने काममा उनी अथक रूपमा लागे । भारतले गत १६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि पनि उनले वर्तमान उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उच्च अधिकारीलाई रक्षा मन्त्रालयमा गएर प्रस्तुति दिए । दुई महिनाअघि प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सैनिक अधिकारीलाई पनि जंगी अड्डामा प्रस्तुतीकरण दिए ।

आफूले प्राप्त गरेको दस्ताबेजका आधारमा नीति–निर्मातालाई घचघच्याउने मात्र होइन, थप दस्ताबेज खोज्ने अभियानमा उनी अहिले पनि सक्रिय छन् । पछिल्लोपटक चार महिना अमेरिका बसाइमा उनले थप ऐतिहासिक नक्सा प्राप्त गरेका छन् । यही मेसोमा उनले सन् १९४७ मा तत्कालीन इस्टइन्डिया कम्पनी सरकारले जारी गरेको नक्सा पनि फेला पारेका छन् । 

‘गत १६ कात्तिकमा भारतले जारी गरेको नक्सा आठौँ संस्करण हो । सन् १९४७ मा भारतले प्रकाशित गरेको सातौँ संस्करणको नक्सामा ‘एट इन्ड अफ ब्रिटिस पिरियड ९ब्रिटिस समयको अन्तिममा० भनिएको छ,’ श्रेष्ठ भन्छन्, ‘त्यो नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी भनिएको छ ।’

सीमाविद् बुद्धिनारायण सन् २००६ सेप्टेम्बर १४ देखि १८ सम्म चीनको बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा पनि पुगेका थिए । एउटा कार्यक्रममा भाग लिन जापानको फुकुओका गएर फर्कने क्रममा उनी बेइजिङ पसेका थिए । ‘नेसनल ब्युरो अफ सर्भे एन्ड म्यापिङ ब्युरोको अभिलेखालयभित्र गएर अध्ययन गर्ने अवसर पाएँ । त्यहाँ पनि मैले सन् १९०३ को एउटा नक्सा फेला पारेँ,’ उनी भन्छन्, ‘छिङ डाइनेस्टीको पालामा तयार भएको नक्सामा पनि लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनिएको छ । नक्सामा कालीपूर्वका गाउँहरू कुटी, नाभी, गुन्जी, कालापानी, नाभीडाङ, लिपुलेक भन्ज्याङलाई कालीपूर्व देखाइएको छ ।’

ब्रिटिस बिरासत बोकेको भारतले गत नोभेम्बर २ ९१६ कात्तिक० मा तयार गरेको नक्सामा पनि काली नदी लिम्पियाधुराबाट बग्ने स्पष्ट उल्लेख गरेको छ । तर, नक्सा जारी भएको ६ दिनपछि ८ नोभेम्बरमा संशोधन गरेर काली नदी लेखिएको अक्षर मेटाइएको छ । ‘यसको अर्थ हो, भारत प्रमाणमा कमजोर छ । नेपालले संयमता र परिपक्वतापूर्वक भारतसँग वार्ता गर्नुपर्छ । हामीसँग प्रमाण बलियो भएकाले विवेक र तर्क गुमाउनुहुँदैन,’ उनी भन्छन्, ‘राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले उत्तेजित भएर वार्ताको वातावरण बिगार्नुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा ल्याउनुपर्छ र तथ्यका आधारमा नाजवाफ बनाउनुपर्छ ।’ -नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर