लकडाउनको मौका छोपी अवैध उत्खनन् : विरुद्धमा बोल्ने स्थानीयको ज्यानै जोखिममा

जनकपुरधाम । लकडाउनका कारण दुई तीन महिना यता सम्पूर्ण विकास निर्माणका कार्यहरु, कल कारखाना, पसलहरु बन्द थिए । तर क्रसर डनहरुको अवैध उत्खननको कार्य भने बन्द भएन । लकडाउनको मौका छोपी उल्टै अवैध रुपमा उत्खनन कार्यमा बृद्धि भएको पाइएको छ । यति मात्र नभई अवैध उत्खनन बिरुद्ध आवाज उठाउनेलाई ज्यान मार्नेसम्मको धम्की आईरहेको स्थानीयवासीको भनाई छ । 

लकडाउनकै समयमा क्रसर डनहरुले गरेको अवैध उत्खनन गरेका कारण दुई महिना पहिलासम्म ऐलानी पर्ती जग्गामा ठूल्ठूला खाडलहरु भइसकेका छन् । 

यो स्थिति हो धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलको । 

मालटोलको वनमा जगधर खोला नजिकै रहेको ऐलानी पर्ती जग्गामा क्रसर डनहरुले गरेको अवैध उत्खननका कारण ठूल्ठूला ४०÷४५ फिट गहिरोसम्म एक दर्जनभन्दा बढी खाल्डोहरु रहेका छन् । 

यो अवैध उत्खनन् बिरुद्ध मालटोलका स्थानीयवासीहरु कयौं पटक आवाज पनि उठाउँदै आईरहेका छन् । कति पटक उत्खनन कार्य रोक्न समेत लगाएका छन् । तर पटक पटक क्रसर डनहरुले उनीहरुको आवाजलाई कुल्चदै यो कार्यलाई निरन्तर जारी नै राखेका छन् ।

अवैध उत्खनन विरुद्ध स्थानीयहरुले आवाज उठाउन थालेपछि केही दिन अगाडी प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल लगायतका पदाधिकारीहरु पुगेर अवैध उत्खनन् नै बन्द गराए । यद्यपि अनुगमन गरेर फर्केको करिव आधा घण्ट भित्रै फेरी अवैध उत्खनन शुरु भएको स्थानीय सुरेश दासले बताए ।

उनले भने ‘आफूहरु त्यसको प्रतिकार गर्नका लागि पुग्दा उल्टै आफूहरुलाई लखेट्दै भगाएका थिए ।’

यता बिहिबार पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले समेत उत्खनन भएको स्थलको अनुगमन गरेका छन् । स्थानीय प्रशासन तथा जनप्रतिनिधि लगायतको संलग्नता बिना यो सम्भव नरहेको बताए । उनले यस विषयमा हाम्रो चासो जान नसक्नु दुःखद रहेको भन्दै भने ‘ यी अवैध कार्य नरोकिए जनताको पक्षमा उभिने छु त्यसपछिको परिणामको जीम्मा सम्बन्धित पक्षले लिनुपर्ने छ ।’  
........................
स्थानीयहरुको ज्यान जोखिममा    
केही महिना अगाडी धनुषामै अवैध उत्खनन बिरुद्ध आवाज उठाउँदै आएका युवा दिलीप महतोको हत्या भएको थियो । उनको हत्या अवैध उत्खनन्बिरुद्ध आवाज उठाएकै कारण क्रसर डनहरुले गरेको कुरो स्पष्ट भईसकेको छ ।

उनको हत्यामा संलग्नहरु प्रहरीको फन्दामा समेत आईसकेका छन् । यता धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलको स्थिति पनि यस्तै भयावह रहेको छ । त्यहाँ पनि अवैध उत्खनन बिरुद्ध आवाज उठाउने स्थानीयहरु भयभित छन् ।

हामीले शुरुमै यहाँ उत्खनन् गर्न दिनु हुँदैन भनेका थियौँ तर हाम्रो कुरो कसैले सुनेनन् स्थानीय राधा लामाले बताइन् । 

उनले शुरुमा कसैले नबोलेकै कारण क्रसर डनहरुको मनोबल बढेको बताइन् । हामीहरुको ज्यान जोखिममा छ, जतिबेला पनि उनीहरु हामीमाथी जाईलाग्न सक्छन् भन्दै उनले भनिन्,‘अवैध उत्खनन् बिरुद्ध आवाज उठाउँदा ठेकेदार आनन्द किशोर साहका लठैतहरु घर घेराउ गर्न पुगी हाल्छन् ।’

यता स्थानीय सुरेश दासले आफुहरुको जीउ ज्यानको रक्षा तथा शान्ति सुरक्षाका लागि ढल्केवर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिंदा समेत लिन नमानेको गुनासो गरे । उनले भने,‘हामी आफ्नो जीउ ज्यानको रक्षाका लागि प्रहरी समक्ष पनि पुग्यौँ, तर माथिदेखि तलसम्म सबै मिलेका छन् ।’

स्थानीय मीना मोक्तानले वडाध्यक्ष बिरुद्ध आक्रोश पोख्दै यदि यो अवैध कार्य हो भने उनले उत्खननका लागि किन सिफारिश गरेको भन्दै प्रश्न गरे । 

यता वडाध्यक्ष बन्दे मोक्तानले आफू उत्खननका लागि स्वीकृति नदिएपछि नगर प्रमुख बालेश्वर मण्डलको दवाबमा सिफारिश गरेको स्वीकार गरे । उनले भने ‘मेयर साबले पोखरी खन्नका लागि मात्रै उत्खनन गर्ने भने पछि मात्रै सिफारिश गरे ।’

अवैध उत्खनन बारे आफूहरुलाई जानकारी रहेको स्वीकार गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीयको जीउ ज्यानमा क्षति पुग्न नदिने दावी गरे । उनले भने,‘सम्पूर्ण जिल्लाको शान्ति सुरक्षाको जिम्मा हाम्रो नै हो, हामी शान्ति सुरक्षा दिन सदैव तत्पर छौँ ।’

........................
स्थानीय सरकार बेपरवाह
धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलमा पोखरी उत्खनन्का लागि दुई वर्ष अगाडी २०७५ साल पुस ८ गते अनुमति दिएको पाइएको छ । सो पत्रमा जीवनराज श्रेष्ठको नाउँमा कित्ता नम्बर ३७मा रहेको निजि जग्गामा उत्खननका लागि अनुमति दिइएको पाइएको छ । नगरपालिकाबाटै २०७६ फागुन ५ गते नियम भित्र रही सार्वजनिक जग्गामा क्षति नपुग्ने गरी पोखरी खन्नका लागि सिफारिश गरिएको पाइएको छ । नगरपालिकाको पत्र अनुसार सो ठेक्का धनुष बाबा कन्सट्रक्सनलाई दिइएको छ । पोखरी खन्नका लागि २०७७ असार मसान्तसम्मको समय दिइएको छ । 

निजि जग्गामा पोखरी खन्नका लागि सिफारिश गरिएको भएपनि ठेकेदारहरुले जगधर खोलाको नजिकै रहेको ऐलानी जग्गाको १५ बिघाभन्दा बढी जग्गामा अवैध रुपमा उत्खनन गरेका छन् । स्थानीय तहको लापरवाहीकै कारण ठेकेदारहरु सो जग्गामा अवैध उत्खनन् गर्न पछाडी नपरेको स्थानीयहरुको आरोप रहेको छ । 

स्थानीयहरुकै दवाबका कारण नगरपालिकाले २०७७ जेठ १३ गते तोकिएको जग्गामा उत्खनन नगरिएको तथा मापदण्ड भित्र नरही उत्खनन गरिएकोले सो जग्गालाई अबिलम्ब पुर्नका लागि पत्र समेत जारी गरेको थियो । यद्यपि अहिलेसम्म अवैध उत्खनन कार्य भने रोकिएको छैन । 

यस विषयमा अनभिज्ञयता प्रकट गर्दै धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले यदि त्यस्तो भएको छ भने आफूहरु कारबाही गर्न पछाडी नपर्ने प्रतिबद्धता व्यक्त गरे ।  

जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले स्थानीय तहका प्रतिनिधिहरुर जिम्मेबार हुन नसकेका कारण अवैध उत्खनन् रोक्न कठिनाई भई रहेको बताए । उनले जिससले नगरपालिकाको।प्रतिनिधि मात्रै राखेर उत्खनन् गर्न पत्र काटे पनि सो अनुरुप स्थानीय तहले कार्य गराउन नसकेकाले यस्तो स्थितिको श्रृजना भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर