• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

असार १५ : ‘मुठी खाएर, मुरी उब्जाउने’

१४ लाख ६० हजार हेक्टर जमीनमा गत आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । त्यो धान अपुग भएकाले ३० अर्ब रुपैयाँको धान आयात गरिएको थियो । 

काठमाडौं । ‘मुठी खाएर, मुरी उब्जाउने’ महिनाको मध्य दिन आज, असार–१५ अर्थात् राष्ट्रिय धान दिवस । देशभर आज १६ औं राष्ट्रिय धान दिवस मनाईंदैछ । १५ असार ०६२ देखि नेपालमा ‘धान दिवस’ मनाउँदै आइएको छ । 

यो वर्ष सरकारले ‘यो वर्ष धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । विश्व कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गरी सामान्य ढंगले मनाउने तयारी कृषि विभागले गरेको छ  । 

कोभिड–१९को संक्रमणलाई ख्याल गर्दै धेरै भिडभाड र हिलो नछ्यापी दिवस मनाउने तयारी गरिएको कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले जानकारी दिए । यो सम्बन्धित मन्त्रालय तथा विभागको औपचारिक कार्यतालिका हो । किसानहरुले आफ्नो अनुकुलतामा धान दिवस मनाउने छन् । 

खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालयमा ‘राष्ट्रिय धान दिवस–२०७७’ मनाइने महानिर्देशक पाण्डेले बताए । नेपालमा उत्पादन हुने धानले राष्ट्रिय कुल अर्थतन्त्रको करिब ८ प्रतिशतमा योगदान पुर्याउँछ । 

मुख्य बालीका रुपमा रहेको धान बालीको उत्पादनमा सरकारले  विशेष जोड् दिएको पाण्डेले बताए । ‘धान उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा ८ प्रतिशत योगदान पुर्याउँछ । धानको उत्पादन बढाउन उन्नत जातको बिउ वितरण, सिंचाइ सुविधा विस्तार, रासायनिक तथा प्रागंरिक मलको सहज आपूर्तीको व्यवस्था लगायतका कामलाई उच्च प्राथमिकता दिएका छौं’, समाचार दैनिकसँग पाण्डेले भने ।

यसपाली मनसुन चाँडै सुरु भएको मौका छोपेर किसानहरुले अहिलेसम्म २० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपिसकेका छन् । धान दिवसको आफ्नै महत्व भएकाले असार १५ मा देशैभरि धान रोपाईं उत्सवका रुपमा हुने उनले बताए । 

.........
१५ लाख ५२ हजार हेक्टरमा धान बाली 

विश्वको आधा जनसंख्या अर्थात् साढे तीन अर्व मानिसको मुख्य आहार हो धानबाट बन्ने चामल । धानको ९० प्रतिशत उत्पादन एशियाली मुलुकमा हुने गरेको छ । तथ्याङ्क हेर्दा के रोचक देखिएको छ भने उत्पादनको आधा एशियामा नै खपत हुने गरेको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि ग्राहस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । 

कृषि विभागका प्रवक्ता सुरज पोखरेलका अनुसार गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । समाचार दैनिकसँगको कुराकानीमा उनले भने,‘यो वर्ष हामीले अझै उत्पादन बढाउने लक्ष्य लिएका छौं । गत वर्ष भने ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।’

साथै, उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १४ लाख ६० हजार हेक्टर जमीनमा धान उत्पादन भएको थियो । उनका अनुसार ३० अर्बको धान आयात भएको थियो । 

मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) प्रजाति धानका खेती नेपालमा हुन्छ । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा धान खेती हुन्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका ६३ प्रजातिका धानको खेती गरिन्छ ।

खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् ।

..............
धान दिवससँगै ‘सलह’को चुनौति 

बालीका लागि विश्वकै खतरनाक आप्रवासी कीरा मानिएको ‘सलह’ नेपालमा पनि प्रवेश गरिसकेको छ । सामान्य फट्याङ्ग्रा भन्दा ठूलो र यसको पछाडिको खुट्टा फट्याङ्ग्रा भन्दा लामो भएको कारणले यसको उफ्रने क्षमता निकै बढी हुने गर्दछ । यो किराको हुलले बालीमा सामूहिक आक्रमण गर्छ ।

अरु कीराहरुले जस्तो निश्चित समूहको बालीमा मात्र आक्रमण गर्ने भन्ने यसको नभएको विज्ञहरुले बताएका छन् । विभिन्न प्रकारको बाली तथा बोट विरुवा नष्ट गर्ने क्षमता सलह किरामा रहने भएकाले पनि किसानहरुमा बाली नाश हुने चिन्ता बढेको छ ।

कृषिमा आत्मनिर्भर भएका ८० प्रतिशत किसानहरुको प्रमुख बाली हो, धान । भर्खर रोपिएका धानका साना बोटलाई सलह आक्रमण गरेमा अपूर्णीय क्षति पुग्ने छ । सलह भित्रिएको २ दिन मात्रै भएकाले यसले के कति क्षति पुर्याउँछ आंकलन गरिएको छैन । सलहको आक्रमण भर्खर रोपिएका धान बालीमा भए कोरोनाले ओरालो लागेको देशको अर्थतन्त्रलाई झन् तल झार्ने आंकलन गरिएको छ ।  

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीका अनुसार यो मौसममा सलहले कम आक्रमण गर्न सक्नेछ । उनले अहिले वन क्षेत्रमा देखिएको उनले बताए । सलहका आहार अहिले जंगलका बोट, विरुवा, रुखका पात भए पनि उच्च सतर्कता भने अप्नाउनु पर्ने उनले बताए । वर्षाको मौसममा सलहले बालीमा कम क्षती पुर्याउने उनले दाबी गरे ।

...............
धान रोपाईंमा दही–च्यूराको संस्कृति

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही–च्यूरा खाने परम्परा छ । यसबेला दही–च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर