• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जहिले प्राकृतिक विपत्तिले नछोडेको सिन्धुपाल्चोक

काठमाडौं । बिहीवार बिहानको मिरमिरे उज्यालोका किरणले भुईं भर्खर देखिन थालेको थियो । वर्खाको मौसम मिरमिरेको किरणमा व्युँझिने बानी परेका लागि फेरि एउटा निस्सासिने खबर सुन्नु पर्यो । धान रोपाईं लगभग निख्रिएको छ । बुधवार साँझ सबैको अनुमान हो भोली बिहीवार, र दैनिकीको कार्यतालिका बनाउँदै सुते । तर, बिहीवारको बिहानीको उज्यालो कोठामा छिर्न नपाउँदै सुनिएको अकल्पनीय खबर ।

‘सिन्धुपाल्चोकमा पटक–पटक प्राकृतिक विपत्ति !’ 

पटक–पटकको प्राकृतिक विपत्तिको भुक्तभोगी सिन्धुपाल्चोक । फेरि दोहोरिएको छ, बिहीवार बिहानदेखि । सिन्धुपाल्चोकमा भएका यी विपत्तिका श्रृखंला लामै बनेको छ । जुरे पहिरो, भोटेकोशी बाढी, भुकम्पको धक्काबाट बढि क्षति र सडक दुर्घटना लगायतका दुखान्त घट्नाहरुले सिन्धुपाल्चोक पटक–पटक थलिइरहेको छ ।

मनसुन सुरुवातीको १५ दिन वरपर गएरातिबाट अर्को प्राकृतिक विपत्तिको सामना गरिरहेको छ सिन्धुपाल्चोक । अझ, जिल्लाको क्षेत्र नम्बर १ ले धेरै विपत्तिको सामाना गरिरहेको छ । भौगोलिक विकटता, ठूला नदीहरु दहन, नदीको छेउँमा भएको राजमार्ग लगायतका कारण यी प्राकृतिक विपत्तिमा सघाउ पुगेको देखिन्छ । 

जिल्लाको बाह्रविसे जम्बु लगायतका ठाउँमा आएको बाढीका कारण दुई दर्जन बढी घर परिवार विस्थापित भए । २ जनाको ज्यान गयो । १८ जना बेपत्ता छन् । बिहीवारको विनासकारी पहिराले जिल्लाको भोटेकोशी गाउँपालिकाका बासिन्दाहरुले यतिबेला पुनः संघीय राजधानी काठमाडौं सँगको सडक सञ्जालबाट सम्बन्ध टुटाएका छन् । 

प्राकृतिक विपत्ति सामना गरिरहेको सिन्धुपाल्चोक यस्तो बन्यो कि विश्वव्यापी फैलिएको महामारी कोभिड–१९बाट नेपालमा पहिलो मृत्यु हुने पहिलो जिल्ला हुन पुग्योे । सिन्धुपाल्चोकवासी भन्न थालेका छन्– ‘नयाँ ठाउँमा गएर आफ्नो जिल्लाको नाम लिंदा सुरुमा सहानुुभूतिको भाषा प्रकट हुन्छ ।’ 

.................
के–के भयो बिहीबार दिनभर ?

बुधबार रातीदेखि परेको अविरल झरीका कारण बाढी आयो । बाढी आएको खबर हातहातका मोबाइलले निक्कै उपयोग भएर जहाँतही सूचना पुग्यो । जुन सूचनाले स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा केन्द्रका नेताहरुको चासो बढायो । 

रातीदेखिको मुसलधारे झरी बिहानपख केही मात्रामा कम भयो । बिहान करिब साढे सात बजे नै सभामुख अग्नि प्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ लगायतको टोली घट्नास्थलतर्फ जानका लागि विमानस्थल पुगिसकेको थियो । 

घाइतेको उद्धार र घट्नाको विस्तृत विवरण बुझ्न प्रस्थान गरेको सभामुखसहितको टोलीलाई त्यही मौसले चुनौति दियो । नेपाली सेना र निजी गरी दुईवटा हेलिकोप्टरबाट तय गरिएको यात्रा मौसम खराबीका कारण धुलिखेलबाटै फर्कियो ।

एउटा हेलिकोप्टर काभ्रेको रोशि गाउँपालिकास्थित मंगलटारमा ‘इमेरजेन्सी’ अवतरण गर्यो । घटनास्थलतर्फ जान निकै कोशिस गरिरहेको सिन्धुपाल्चोक जिल्लाको नेतृत्वले बिहीवारको विपत्तिको हरेक अपडेट सामाजिक सञ्जालमार्फत् गराइरह्यो । दुई घन्टा मंगलटारमै रोकिए उनीहरु । 

अनेकन उपाए अप्नाएर नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल र सापकोटा हेलिकोप्टर जम्बु पुर्याउन सफल भए । गम्भीर घाइते भएका दुईजनालाई सोही हेलिकोप्टरबाट काठमाडौं पुर्याएर उनीहरु दुईजना हस्याङ् फस्याङ् गर्दै बाढी आएको गाउँमा पुगेका थिए । नेताद्वय पुग्दा स्थानीय त्रासित अवस्थामा गुहार मागिरहेका थिए ।

जिल्लाका नेतृत्व आएको देखेपछि स्थानीयमा केही सहास आयो । स्थानीयले महसुस गरे ‘अभिभावक’ आईपुगे ! स्थानीयलाई नेताद्वयले प्रदेशदेखि, केन्द्र सरकारसम्मले बाढीबारे देखाएको चासो र उद्धारका लागि भएका पहलहरु र मौसमको प्रतिकुलता बारे जानकारी गराए ।

मध्यरातीदेखि अविरल वर्षाले रुझेर, बाढी आउँदा सुनिएका त्रासदीका कारणले मलिन अनुहारहरुमा थिए बाढी पीडित । ‘रुझेर शरिरमा कपडा लपक्कै लागेका थिए । सबैको मलिन अनुहारमा रहेका स्थानीयको कारुण तस्विरमा थिए । जब हामी पुग्यौं, त्यही भिजेका शरिर, मलिन अनुहारका चेहेरामा एकाएक खुशी देखिन थाले । यि अनुभूतिले हामीलाई झन् जिम्मेवारीबोध गरायो’, उद्धारका लागि पहिलो पटक पुग्दाको अनुभव सुनाउँदै सापकोटाले समाचार दैनिकसँग भने । 

केही बेरमा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला नेतृत्व, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सवारी साधन जाने बाटोमा छोडेर हिँडेरै पुगे । 

उता, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ प्रदेश राजधानी हेटौंडामै थिए । बिहीवारका तय गरिएका सबै कार्यक्रम छोडेर उनी बाढीले क्षती पुर्याएको स्थलतिर लागे । मौसमी प्रतिकुलताका कारण समयमै उनी पनि घट्नास्थल पुग्न सकेनन् । 

थोरै मौसम खुल्नासाथ साहस झिकेर मन्त्री दुलालसहितको टोली मध्यान्ह घट्नास्थल पुग्यो । मन्त्री दुलालसहित उद्दारका लागि बागमती प्रदेशका कानूनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि सिन्धुपाल्चोक पुगेका थिए । बिहानै धुलिखेलको आकाशबाट फर्किएको सभामुख सापकोटाको टोली दिउँसो जम्बु पुग्यो । बुधवार दिउँसो आँखाको शल्यक्रिया गराएका सभामुख सापाकोटा आँखामा पट्टि बाँधेरै घटनास्थल पुगेका थिए ।

सोही क्षेत्रवासी कांग्रेस नेता मोहन बस्नेत सभामुख सापकोटा पुगेको केहीबेरमा पुगे । दिनभर स्थानीयहरुसँग घटनाबारे विस्तृत जानकारी लिने काम सम्पूर्णले गरे । 

बाढीले बासदेखि गाँससम्म गुमाएका स्थानीयहरु नेतृत्वको सक्रियताले धैर्य गरेर तग्रिंने प्रयास गरिरहेका छन् । 

...............
युवा नेतृत्वको सक्रियता

०७१ सालपछि निकै ठूला प्राकृतिक विपत्ति झेलिरहेको सिन्धुपाल्चोकलाई जिल्लाको युवा नेतृत्वले सधैं साथ दिइरहेका छन् । विपत्तिमा जुटेर सामना गर्ने यहाँका नेतृत्वहरुका लागि सिकाई भएको छ ।

प्रत्येक वर्ष प्राकृतिक विपत्तिले चुनौती दिइरहेको सिन्धुपाल्चोकलाई युवाहरुको माया र लगनशीलताले उती नै चाँडो ‘शोकलाई शक्तिमा बदल्ने’ शैलीमा पीडितहरुलाई तंग्रिन मद्दत पुगेको मन्त्री दुलाल बताउँछन् । 

 

‘विशेषतः राजनीतिक हिसाबले हेर्दा सिन्धुपाल्चोकमा नेकपामा युवा नेतृत्वको वर्चश्व छ’, मन्त्री दुलालले भने, ‘विपत्तिमा खट्ने, छिटो भन्दा छिटो उद्धारमा लाग्ने पटक–पटकको विपत्तिले यहाँ संस्कृतिको रुपमा विकास हुँदै आइरहेको छ ।’

बिहीवार मध्यान्हसम्मको मौसमले हेलिकप्टर उडाउन जोखिम भएको बताउँदै आफूहरुले जोखिमको सामना गरेर स्थानीयको उद्दारलाई अघि बढाएको उनले बताए ।

नागरिकहरुको जीवन रक्षाका लागि आफूहरु त्यहाँ पुग्दा जमिनहरु भासिएको, घाइतेहरु छटपटाएको र स्थानीयहरु तर्सिएको जस्तो देखिएको उनले स्मरण गरे । ३ जेठमा धुलिखेल अस्पतालमा मृत्यु भएकी पहिलो कोरोना संक्रमित महिलाको गाउँमा नै पुगेर नेतृत्वले सान्त्वना दिएका थिए मन्त्री दुलालले । बाह्रबिसे नगरपालिका राम्चे ९ की सुत्केरी महिलाको मृत्यु भएको थियो । 

सबै दलका नेतृत्वले देखाएको तत्परताले सिन्धुवासीमा अभिभावक पाइएको भनि सामाजिक सञ्जालहरुमा सकारात्मक टिप्पणी भएका छन् ।

................
यी ठूला घटनाः जुन सिन्धुपाल्चोकले व्यहोर्यो
जुरे पहिरो:
 विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालीकासहित १४५ जनाले ज्यान गुमाए । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरूपमा ध्वस्त भएको थियो । 

भोटेकोशी नदीको वाह नै थुनिने गरी आएकोे पहिरोका कारण दुर्घटनामा परी धेरैको आवास गुम्यो । कयौं घरवारबिहिन बने । अझैसम्म घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिरोले बनाएको ताल फुट्ने हल्लादेखि, मानवीय क्षति, सम्भावित क्षतिबाट चुरे क्षेत्र र बागमतीसम्मै महिनौंसम्म त्रासमा बाँच्नु पर्यो । जुरेको यो ठूलो प्राकृतिक विपत्ति बिर्सनै नसक्ने छाप छोडेर गयो । 

०७२ को भूकम्प : गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएको २०७२ बैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भुकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी ३ हजार ५ सय ७१ जनाले ज्यान गुमाए । ८० हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा पुरानो आकारमा आएको छैन । 

दुई ठूला हेलिकप्टर दुर्घटनाः सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुदाँ १२ जनाको ज्यान गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरीकको मृत्यु भएको थियो ।

२०७२ सालको वैशाख १२ गते पछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायता लिएर जाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौंथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।

त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घट्ना भएको थियो । सो दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो ।

तीन महिनामा तीन ठूला सडक दुर्घटना :
घटना नं १:
 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चड भएपछि दुर्घटना भएको थियो । 

घटना नं २: गत साल कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । शैलुङ्गेश्वर यातायातको बा.२.ख. ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । चालकको लापरवाहीका कारण बस दुर्घना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो । 

घटना नं ३: दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा.४.ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचारहरु:

-सिन्धुपाल्चोकमा बाढी : दुईको मृत्यु, १८ वेपत्ता, उद्दारका लागि सभामुखसहितको टोली हेलिकोप्टरबाट जाँदै

-सिन्धुपाल्चोकमा बाढी : उद्दारका लागि हिँडेका सभामुख मौसम बिग्रिएपछि आकाशबाटै फिर्ता

-इमरजेन्सी ल्यान्ड ! मौसम थोरै अनुकूल हुनासाथ हेलिकोप्टरबाट उद्दार हुन्छ : मन्त्री दुलाल

-सिन्धुपाल्चोकमा बाढी प्रभावितको उद्दारका लागि मन्त्री दुलाल हेलिकोप्टरबाट बाह्रविसे प्रस्थान

-यी हुन बाह्रविसेको बाढीमा बेपत्ता भएका २० जना [नामावलि]

-सिन्धुपाल्चोक बाढी अपडेट : पहिलो हेलिकोप्टर जम्बु पुग्यो, घाइतको उद्दार सुरु

-सिन्धुपाल्चोक बाढी अपडेट : गम्भीर घाइते २ जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, उद्दार कार्य जारी

-आँखामा पट्टि बाँधेरै जम्बु पुगे सभामुख सापकोटा

बाह्रविसे पुगेर मन्त्री दुलालले भने–'नआत्तिनुस, सरकार साथमा छ' [फोटोफिचर]

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर