• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये १६ जनाको शव फेला परेको छ ।  शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् । पहिरोमा परी मृत्यु हुनेमा लिदीका टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ छन् ।

त्यस्तै माइला पाराङ दोङ, मेकमाया दोङ, च्यामा दोङ, विमला दोङ र कविर दोङको पनि पहिरोमा परी मृत्यु भएको छ ।  नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको छ । पहिरोमा परी घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरिङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामु लामा दोङको काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।  

यस्तै शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् ।  मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर