• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी

काठमाडौं । सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ । तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन । कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहको ठगी धन्दाले त्यही भन्छ । तीन दिनअघि पक्राउ परेका सिंहमाथि पाँच दिनको म्याद थपेर प्रहरी अनुसन्धान जारी छ ।

युरोप र अमेरिका लैजाने प्रलोभनमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा ठगी धन्दा चलाउँदै आएका थिए । असनस्थित उनकै कार्यालयमा छापा मारेपछि ठगी गर्ने खेल बाहिर आएको हो । 

आफ्नो ठगी कर्म अगाडि बढाउन सिंहले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको नक्कली लेटरहेड तथा छाप बनाउँथे । यतिले मात्र नभई युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए । यसका आधारमा उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ । 

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । ‘ठगिएको जाहेरी परेको थियो । त्यसपछि उनी पक्राउ परेका छन् । उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैँले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफैँ लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

असनस्थित कार्यालयमा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयको छाप र लेटरहेड बरामद गरेको थियो । प्रहरीका अनुसार उनले बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारमातहतको श्रम मन्त्रालयबीच श्रम सम्झौता भएको नक्कली कागजात बनाउने गर्थे । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर