• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तीन वर्षअगाडि तोकिएको मूल्यभन्दा ७३ करोड कममा पशुपतिको बालुवा बेच्ने निर्णय

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गोठाटारको पाँच सय ३४ रोपनी जग्गामा रहेको १८ करोड ५५ लाख क्युफिट बालुवा तीन वर्षअघि तोकिएकोभन्दा पनि सस्तोमा बेच्ने निर्णय भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा २१ भदौमा बसेको पशुपति सञ्चालक परिषद्को बैठकले न्यूनतम मूल्य नै तीन वर्षअघि तोकिएकोभन्दा ७३ करोड रुपैयाँ घटाएर सो जग्गाको बालुवा बिक्री गर्ने निर्णय गरेको हो । प्रतिक्युफिट ११ रुपैयाँका दरले बालुवा र माटोको न्यूनतम मूल्य तोक्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । 

जब कि ०७३ माघमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा गठित कार्यदलले सो क्षेत्रको बालुवा र माटो प्रतिक्युफिट १५ रुपैयाँमा बेच्न सिफारिस गरेको थियो । सोअनुसार सो बालुवा तथा माटोको न्यूनतम मूल्य दुई अर्ब ७८ करोड २५ लाख रुपैयाँ त्यतिवेलै तोकिएको थियो । तर, अहिले ११ रुपैयाँ प्रतिक्युफिटमा बेच्दा न्यूनतम दुई अर्ब चार करोड ५० लाख मात्रै प्राप्त हुन्छ । यसरी परिषद्ले न्यूनतम मूल्य नै त्यसवेलाको भन्दा ७३ करोड ७५ लाख रुपैयाँ कम राखेर बालुवा बिक्री गर्ने निर्णय गरेको छ । ‘नयाँ प्रचलित भाउको अध्ययन गरेर मात्रै बिक्रीको मूल्य तोकिनुपर्ने थियो, तर पहिलेको भन्दा पनि घटाउनु राम्रो होइन,’ तत्कालीन कार्यदलका संयोजक सुवेदीले भने । 

परिषद्ले तोकेको मूल्य न्यूनतम भएको र टेन्डरमार्फत बिक्री गर्दा थप मूल्य प्राप्त हुन सक्ने सचिव अधिकारीले बताए । ‘पशुपतिको गोठाटारको जग्गामा गुरुयोजनाअनुसार काम गर्न बालुवा र माटोको व्यवस्थापन गर्ने निर्णय गरेका हौँ । उक्त क्षेत्रमा ३५ लाख घनमिटर बालुवा र माटो रहेको अनुमान गरिएको छ,’ उनले भने, ‘परिषद्ले न्यूनतम मूल्यबारे निर्णय गरेको हो, पछि टेन्डर गर्दा धेरै कबोल गर्नेले पाउने भएकाले अहिले तोकिएको मूल्य नै अन्तिम निर्णय होइन ।’ ०७३ को प्रतिवेदनमा प्रतिक्युफिट १५ रुपैयाँ मूल्य राखिए पनि माटोको विषय उल्लेख नभएको सचिव अधिकारीको भनाइ छ ।

२८ जेठ ०४७ मा सरकारले गोठाटारमा रहेको पाँच सय ३४ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषमा नाममा नामसारी गरेको थियो । त्यहाँ माटो र बालुवाको ढिस्को छ । पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाअनुसार काम अगाडि बढाउन भन्दै जग्गा उपयोग गर्नका लागि बालुवा बिक्री गर्ने निर्णय गराएको उल्लेख गरिएको छ । सञ्चालक परिषद् पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति हो  नयाँ पत्रिका दैनिकबाट
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर