• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरकार पुनर्गठन बहसः चुनाव हारेका गौतम र श्रेष्ठले पनि गरे दाबी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई धेरै नेता कार्यकर्ताहरुले अर्थपूर्ण रुपमा लिए । धेरैजसो पार्टी बैठकहरु प्रधानमन्त्री निवास बालुवाटारमा राखेको भन्दै बेला–बेलामा आलोचना खेप्दै आएका प्रधानमन्त्री ओलीपनि आइतबार पेरिसडाँडा पुगेपछि नेकपा वृत्तमा झनै चर्चा बढेको छ । 

सचिवालय बैठक सुरु हुनुभन्दा केहीबेर अघिदेखिनै पेरिसडाँडामा केन्द्रीय नेताहरुदेखि युवा नेता, कार्यकर्ताको उपस्थिति थियो । पहिलोपटक पेरिसडाँडामा बसेको यो बैठकको जानकारी पनि कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सचिवालयबाटै आयो । यसअघि लामो अन्र्तसंघर्षपछि भएको सहमति अनुसार प्रचण्डले पार्टीको सम्पूर्ण जिम्मेवारी लिने बताइएको थियो । सोही अनुरुप आइतबार प्रचण्डको अध्यक्षतामा बैठक बस्यो । र बैठकको जानकारी आम संचारमाध्यमलाई प्रचण्ड सचिवालयबाटै भयो । 

यसअघि पार्टीका हरेक बैठकको जानकारी प्रधानमन्त्रीको सचिवालयबाट आउने गरेको थियो । अध्यक्ष दाहालकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले आजको बैठकको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै बैठक सुरु भएको जानकारी गराएका थिए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुर्नगठनको विषयमा मापदण्ड बनाएर अघि बढ्नेबारे छलफल भएको बताए । 

तर, आजको बैठकमा प्रवक्ता श्रेष्ठले भनेजसरि भन्दा अलिक फरक छलफल भएको एक सचिवालय सदस्यले समाचार दैनिकलाई बताए । 

ती सदस्यका अनुसार आजको सचिवालय बैठकको सुरुमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुर्नगठनसम्बन्धि विषयलाई छलफलमा अघि सारेका  थिए । उनले मन्त्रिमण्डल पुनर्गठनको विषयलाई अघि सार्दै ‘सबैलाई हटाएर, सबै नयाँ राख्ने कि ? केही राम्रा काम गरेकालाई राखेर बाँकीलाई हटाउने ?’ भन्दै सुझाव मागेको ती सदस्यले समाचार दैनिकलाई बताए । 

प्रधानमन्त्रीले उक्त विषय राखेर सुझाव मागेपछि कार्यकारी अध्यक्षसमेत रहेका प्रचण्डले केही सिनियर र राम्रा काम गरेकालाई राखेर र राम्रो पर्फमेन्स नदेखाएकालाई हटाउनेपर्ने सुझाव राखे । 

लगत्तै, नेता झलनाथ खनालले प्रधानमन्त्री बाहेक सबै मन्त्री फेर्नपर्ने तर्क राखे । उनको उक्त तर्कमाथि कुनै पनि सदस्य सहमत नभएको ती सदस्यले समाचार दैनिकलाई बताए । 

त्यसको लगत्तै, अर्का सचिवालय सदस्य माधव कुमार नेपाल बोले । नेपालले जातीय, क्षेत्रीय तथा समावेशीताका आधारमा मापदण्ड बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि सुझाए । नेपालले मापदण्ड बनाएरै पुनर्गठन गर्नपर्ने विषयलाई प्रधानमन्त्री ओलीले बिचमै काटे । 

‘हामी पहिलोपटक सरकारमा गएका होइनौं । पूर्वएमालेमा हुँदा पनि गएका थियौं । अहिलेसम्म कुनै मापदण्ड बनाएर मन्त्रिमण्डल फेरिएको छैन् ।’ नेपालको कुरामाथि असहमति जनाउँदै प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै ती सदस्यले भने, ‘यसरि मापदण्ड नै बनाएर पुर्नगठन गर्नुपर्छ भन्नै छैन् ।’

नेपालको उक्त प्रस्तावमाथि ठाडै प्रधानमन्त्री ओलीले असहमति जनाएसँगै एकछिन बैठकमा ‘सन्नटा’ छाएको थियो । 

त्यसको केहीबेरमा बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ‘प्रतिनिधिसभामा हारेपनि मन्त्री बन्न पाउनपर्ने’ गरि तर्क प्रस्तुत गरे । जसमा नेपाल र खनालले पनि सहमति जनाएको ती सदस्यको भनाई छ । केहीबेर प्रतिनिधिसभामा हारेकालाई मन्त्री बनाउनेमाथि छलफल नै भयो । प्रधानमन्त्री ओली लगायतले हारेकालाई लान नहुने भन्दै विषयान्तर गरेको ती सदस्यले समाचार दैनिकलाई बताए । 

यो सँगै बामदेव र श्रेष्ठ मन्त्री बन्ने संभावना कम भएको छ । बामदेवलाई राष्ट्रियसभामा निर्वाचित भएर सामाजिक सञ्जालमा ट्रोल बनिरहेका प्रधानमन्त्री ओली पुनः अर्को गल्ति गरेर हारेकालाई मन्त्री बनाउनेतर्फ नलाग्ने बालुवाटार निकट एक नेता बताउँछन् । 

मन्त्रिमण्डलबाट को–को हट्ने? को–को बस्ने ?
लामो समयसम्मको पार्टी विवाद मत्थर हुने सिलसिलामा छ । यसअघि नै मन्त्रिमण्डल हेरफेर गरिसकेका प्रधानमन्त्री ओलीले पुनः मन्त्रिमण्डलको विषय पार्टी बैठकमा लगेपछि को रहने को नरहने भन्ने चर्चा झनै चुलिएको छ । 

स्रोतका अनुसार उप–प्रधान समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल मन्त्रिमण्डलबाट बाहिरिँदैनन् । प्रधानमन्त्री ओलीका नजिकका र विश्वास पात्र रहेका पोखरेल मन्त्रिमण्डलबाट नहट्ने स्रोतले समाचार दैनिकसँग दाबी गरेको छ । 

सुरुवाती चरणमा प्रधानमन्त्रीसँग केही टसल भएपनि गृहमन्त्री रामबहादुर थापाले पनि सम्बन्ध सुधारेका छन् । पछिल्लो समय प्रधानमन्त्री निकट हुँदै गएको चर्चा भइरहँदा उनको कार्यकाल पुनः धरापमा पुग्नबाट जोगिएको जस्तो देखिएको छ । साथै, उनी पूर्व माओवादी कोटाबाट मन्त्री बन्नेमध्येका सिनयिर नेतामध्येका हुन् । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि मन्त्रिमण्डल पुनर्गठन हुँदापनि जोगिनेभित्रमा परेको सचिवालय निकट स्रोतको दाबी छ । अहिलेसम्म विवादमा नआएका मन्त्री पुन पूर्वमाओवादी पृष्ठभूमिका छन् । उनी सिनियर नेतामध्येका एक हुन् । पछिल्लो समय पार्टी विवाद मत्थर गर्ने क्रममा प्रधानमन्त्री ओली र प्रचण्डसँग समन्वयकारी भूमिका खेलेका ऊर्जामन्त्री पुनलाई दुवै अध्यक्षले रुचाएकामध्येका मन्त्री हुन् ।

भर्खरै, सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका प्रदिप ज्ञवाली पनि मन्त्रिमण्डलभित्रै अटाउने बुझिएको छ । साथै, शिक्षामन्त्री गिरिराजमणी पोखरलसँग प्रधानमन्त्री ओली सकारात्मक छन् । प्रतिकुलताकाबीच प्रधानमन्त्री ओली र सरकारलाई साथ दिएर काम गरेका कारण पोखरेल हट्नसक्ने संभावना कम छ । 
लकडाउनकै बीचमा भौतिक पूर्वाधारका काममा फड्को मार्ने जमर्को गरेका मन्त्री वसन्त नेम्वाङ पनि सुरक्षित छन् । पूर्वसभामुख सुवास नेम्वाङ निकट रहेका उनी ओलीका पनि नजिकका मानिन्छन् । 

यसभन्दा बाँकी रहेका मन्त्रीहरुलाई उनीहरुको पर्फमेन्सका आधारमा मात्रै राख्ने मुडमा प्रधानमन्त्री ओली पुगेको जानकारी छ । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी विना मगरको बारेमा पनि आवश्यक परे सोच्ने संकेत प्रधानमन्त्री ओलीले गरेका छन् । जसमा प्रचण्डले आवश्यक्ताका आधारमा अघि बढ्न ओलीलाई सकेत गरेको स्रोतको दाबी छ । 

जसको नयाँ नाम चर्चामा छ
यसअघि चर्चामा सुनिएका भिम रावल र सुरेन्द्र पाण्डे पछि हट्ने भएका छन् । परराष्ट्रमा रावल र अर्थमा पाण्डे जान रुचि देखाएका छन् । यी दुई बाहेकका अन्य मन्त्रालयमा उनीहरुले नजाने प्रधानमन्त्रीलाई सुनाएका छन् । यसो हुँदा ओली अहिले यी दुवै मन्त्रालय चलाउने पक्षमा छैनन् । 

जनार्दन शर्मा सूचना तथा संचार पवा अन्य कुनै पाउँदा मन्त्रिमण्डलमा जाने तयारीमा छन् । बैठकमा यअसघि सांसद भएका, समावेशी, जातीयता, समानुपातिक हिसाबले अघि बढ्नपर्ने आवज उठिरहेको छ । यसका बावजुत, पम्फा भुसाल, देवेन्द्र पौडेल, वेदुराम भुसाल, अमनलाल मोदी, कृष्ण गोपाल श्रेष्ठ, यज्ञराज सुनुवार, प्रभु साह लगायतको नाम चर्चामा रहेको स्रोतले समाचार दैनिकलाई बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर