• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लकडाउनमा घट्यो घरगाडी कर्जा, सेयर बजारमा ५० अर्ब लगानी 

काठमाडौं । कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपैयाँले घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको छ ।

लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको छ ।

उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपैयाँले र सवारी कर्जा १० अर्ब रुपैयाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपैयाँसम्मको घर कर्जासमेत ६ अर्ब ९६ करोड रुपैयाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ ।

कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर्जा लगानी कम भएको हो । समग्रमा यी विविध क्षेत्रमा ४९ अर्बले लगानी घटे पनि अन्य क्षेत्रमा भने ८१ अर्बले लगानी बढेको छ । सोही कारण कुल कर्जा लगानी भने ३१ अर्ब रुपैयाँले वृद्धि भएर ३२ खर्ब ४५ अर्ब पुगेको छ । 

 चालू पुँजी कर्जामा २५ अर्बको वृद्धि  
आवधिक कर्जा र माग तथा चालू पुँजी कर्जामा भने तुलनात्मक रूपमा उच्चदरमा वृद्धि भएको छ । आवधिक कर्जा ४५ अर्ब २१ करोड र चालू पुँजी कर्जा २५ अर्ब ६६ करोड रुपैयाँले वृद्धि भएको हो । राष्ट्र बैंकले १६ वैशाखमा परिपत्र जारी गर्दै कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्रलाई २०७६ चैतसम्मका आधारमा थप १० प्रतिशतसम्म चालू पुँजी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको थियो । एक वर्षका लागि यस्तो कर्जा दिन सकिने उल्लेख गरेको राष्ट्र बैंकले २ साउनमा मौद्रिक नीतिमार्फत २० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको थियो । यही कारण चालू पुँजी कर्जामा वृद्धि भएको देखिन्छ । 

राष्ट्र बैंकले होटेल, रेस्टुरेन्ट, रिसोर्ट, ट्राभललगायतका पर्यटन क्षेत्र, हवाई, व्यावसायिक प्रयोजनका सवारी, साना तथा मझौला उद्योग, निर्यात, मनोरञ्जन उद्योग, अस्पताल, पोल्ट्री व्यवसायमा यस्तो कर्जा दिन सकिने व्यवस्था गरेको थियो । होटेल र रेस्टुरेन्टमा यो अवधिमा कर्जा रकम ८ अर्ब ६० करोडले बढेर १ खर्ब ५० अर्ब पुगेको थियो । २८ भदौमा राष्ट्र बैंकले चालू पुँजी कर्जा नलिएका २०७६ चैतसम्म कायम ऋणीलाई थप १० प्रतिशत आवधिक कर्जा जारी गर्न सक्ने सुविधा दिएको छ ।

‘त्यो समय नयाँ आवधिक कर्जा पनि नगएको होइन,’ बैंकर संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘आयोजना स्तरोन्नति भइरहेका, चलिरहेका उद्योगलाई थप आवधिक कर्जासमेत दिनुपर्ने अवस्था रहेकाले त्यही समयमै पनि यही शीर्षकमा थप कर्जा पनि गएको थियो ।’ लकडाउनको यो अवधिमा उपभोग कर्जासमेत ७ अर्ब ६४ करोडले घटेको छ । थोक तथा खुद्रा व्यवसायमा ७ अर्ब ३३ करोडले कर्जा घटेको छ ।  

 सेयर बजारमा ५० अर्ब लगानी 
यो चार महिनाको अवधिमा कुल कर्जा लगानी ३१ अर्ब रुपैयाँले मात्र बढ्दा सेयर बजारमा ४ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी थपिएको छ । कुल ५० अर्ब ५५ करोड रुपैयाँ सेयर धितोमा कर्जा गएको छ । बैंकहरूमा भएको अधिक तरलता र कर्जायोग्य पुँजीले सेयर बजारलाई लाभ पुगेको हो । अनिश्चितताका बाबजुद यो चार महिनामा नेप्से १ सय ३१ अंकसम्म बढेर १ हजार ४ सय ६६ सम्म पुगेको थियो । बजार सञ्चालनको अनिश्चितता र अर्थतन्त्रमा देखिएको अनिश्चितताका बाबजुद यो चार महिनामा ४१ दिन सेयर कारोबार भयो र १४ दिन मात्रै दैनिक १ अर्बभन्दा कम रकमको सेयर किनबेच भयो । यो अवधिमा एकै दिनमा अधिकतम ३ अर्ब रुपैयाँसम्म कारोबार भयो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर