• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

प्रधानमन्त्री ओली र ‘रअ‘ प्रमुख गोयलबीच भएका गोप्य ५ सहमति !

काठमाडौं । भारतीय खुफिया एजेन्सी रिसर्ज एण्ड एनलाईसिस विङ 'रअ'का प्रमुख सामन्तकुमार गोयल कात्तिक ५ गते दिउँसो काठमाडौं स्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । गोप्य रुपमा नेपाल प्रवेश गरेका गोयललाई प्रधानमन्त्री माताहात रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विमान नजिकै पुगेर स्वागत गरेका थिए ।

गोयलको नेपाल गोप्य आगमन किन ? भन्ने विषयले नेपाली राजनीतिबृत्तमा बढि चासोको विषय बन्यो । गोयलले प्रधानमन्त्री केपी ओलीसँग मध्यराती ९ बजेदेखि साढे १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका थिए । बालुवाटारबाट बाहिरिएका गोयल भारतीय दूतावासका कर्मचारी अवजित हल्दारको विशालनगरस्थित निवासमा छिरेर बा ००१ च ०२०९ नम्बरको सवारीमा चुच्चेपाटीमा रहेको होटल हायातमा बास बसेका थिए । 

५ गते आएर सोही दिन फर्कने योजना बनाए पनि भेटघाट लम्बिएकाले उनी ६ गते विहान १० बजे सिधै बंगलादेश गएको विषेश श्रोतले समाचार दैनिकलाई बतायो । 

गोयलको आगमन बारे ५ गते साँझबाटै चर्चा सुरु भएपनि सरकारले भने उनलाई कसले र किन बोलाएको हो भन्ने कुराको कुनै जानकारी गराएको थिएन । 

प्रधानमन्त्री ओलीसँग भेट गरेको १२ घण्टापछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले फेसबुक पेज मार्फत् प्रेस नोट जारी गरेका थिए । ६ गते मध्यान्न १ः०० बजेको हाराहिरिमा जारी भएको नोटमा भनिएको छ– ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख  सामन्तकुमार गोयलले  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुको भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।‘

'भेटका क्रममा उहाँले नेपाल–भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।'

उनको नोटमा गुप्तचर प्रमुख गोयललाई कसले बोलाएको हो ? भन्ने सन्दर्भ भने खुलाईएको छैन । प्रधानमन्त्री ओलीसँग गोयलले कुन हैसियतमा भेटघाट गरे प्रष्टाइएको छैन ।

गोयलले अघिल्लो दिन साँझ नै पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवालाई पनि भेटेको चर्चा चलिसकेको थियो । तर प्रचण्ड र नेपालको सचिवालयले यसको तत्कालै खण्डन गर्यो । बरु उनीहरु बालुवाटारबाटै गुप्तचरसँग भेटेको हल्ला फैलाएको आशंका व्यक्त गरे । 

उच्च श्रोतका अनुसार गोयलले प्रधानमन्त्री ओलीका अलवा भारतका नजिकका सहयोगी भनेर चिनिएका केही राजनीतिक र केही पूर्व राजा नकिका अराजनीतिक व्यक्ति भेटेपनि उच्च तहका राजनीतिक दलका नेतासँग भेट गरेको कुनै आधिकारिकता देखिएन ।

याे पनि ....

'प्रधानमन्त्रीकाे रुचि'मा काठमाडौं आएका ‘रअ’ प्रमुख गोयल फर्किए
 

प्रधानमन्त्रीसँगको भेटमा गोयल भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो, भन्ने कुरा सल्लाहाकार थापाले उल्लेख गरेका छन् । 

सार्वजनिक आलोचनापछि उप–प्रधानमन्त्री ईश्वर पोखरेलले समेत यसबारे लामो प्रष्टीकरण दिएका थिए । पोखरेलको ६ बुंदा लामो प्रष्टीकरणमा भनेका छन्– ‘वातचितमा प्रधानमन्त्री ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्बन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू  पुनः जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल (हरू)का तर्फबाट नेपालका प्रधानमन्त्रीको प्रस्तुतिलाई सकारात्मक रूपमा लिंदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाई राखिएको थियो । नेपाल–भारतबीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।‘

तर कुरा यतिमा सिमित नभएको विषेश श्रोतले समाचार दैनिकलाई बतायो । ओली–गोयलबीचमा केही गोप्य समझदारीहरु बनेका छन् । आपसी सम्बन्ध बलियो बनाउने र वार्ताद्वारा अघि बढ्ने भन्ने कुराका लागि मात्रै मध्यराति साढे ३ घण्टा व्यतित गर्नुपर्ने थिएन । 

के हुन् त समझदारी भएको भनिएका ५ विषयहरु ?

– नेपालले सीमा नक्साका बारेमा थप कुनै काम नगर्नेः
तत्कालिन नेकपा सचिवालयको बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा जारी गर्न र यो कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा पार्न सरकारलाई दिएको निर्देशन अनुसार प्रधानमन्त्री केपी ओलीले बजेटमा यो विषय समेटेको नेकपाकै नेताहरु बताउँछन् । जे भएपनि ओलीको यो कदमलाई राष्ट्रले नै सम्मान गर्यो र संघीय संसदमा समेत नेपाली भूमि समेटेर नयाँ सीमा नक्सा जारी गर्ने कुरा सर्वसम्मतले पारित भयो । 

जुन कदमबाट भारत नेपालसँग रुष्ट थियो । त्यसयता भारत नेपालका विचको सम्बाद ठप्प थियो । चिसिएको सम्बन्ध सुधार नहुंै भारतका तर्फबाट नेपाल भ्रमण गरेको गोयल उच्च पदस्थ व्यक्ति हुन् । 
राजनीतिक बृत्तमा छलफल गरेर टुंगो लगाउनु पर्ने र नक्सामा मात्र हैन व्यवहारमा नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बेला प्रधानमन्त्री ओलीले विगतमा जे जे भएपनि अबका दिनमा सो विषयलाई थप अघि नबढाउने सहमति गरेको श्रोतको दावी छ । 

प्रधानमन्त्री केपी ओलीले दशैंका अवसरमा दिएको शुभकामना सन्देशको फोटोमा समेत पुरानै नक्सा भएको लोगो प्रयोग भएको कुरा भारतीय मिडिया द प्रिन्टले लेखेको छ । जुन कुरालाई प्रधानमन्त्री ओलीको सचिवालयले भने सानो आकारको फोटो भएकाले लिपुलेक लिम्पियाधुराको भू–भाग नक्सामा नदेखिएको दावी गरेको छ । 

– भारतीय सीमा क्षेत्रका चिनियाँ परियोजना अघि नबढाउनेः
गोयल र प्रधानमन्त्री ओलीका बीचको अर्को समझदारी भनेको चिनियाँ परियोजना अघि नबढाउने रहेको छ । श्रोत भन्छ, अहिले पनि चिनियाँ लगानिका तर भारतीय सीमा क्षेत्रका परियोजनाहरु लगभग ठप्प छन् । यस्ता कामले नेपालीहरुमा भारतप्रति वितृष्णा बढ्ने र चीनप्रति नेपालीहरु सकारात्मक हुने देखेकाले गोयलले यो विषयपनि प्रधानमन्त्री समक्ष राखेका थिए । 

– बेल्ट एण्ड रोड लगायत चिनियाँ राष्ट्रपति नेपालमा आएका बेला भएका परियोजना कार्यान्वयन नगर्नेः
नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले त्यतिबेला सांकेतिक रुपमा भनेका थिए, नेपालले कुरा गर्छ काम गर्दैन, अबका दिनमा भएका सहमति कार्यान्वयन गरोस् । तर, दुई पक्षीय भेटमा सी भ्रमणताका भएका सहमति कार्यान्वयन रोक्ने र बेल्ट एण्ड रोड ईनिसियटिभसँग सम्बन्धित परियोजना कार्यान्वयन नगर्ने कुरा भयो । गोयल आउनु पहिले देखिनै बेल्ट एण्ड रोडका कार्यक्रमहरु नेपालमा कार्यान्वयन भएका छैनन् । चीनको ड्रिम प्रोजेक्टमा नेपाल औपचारिक रुपमा सहभागि भएपनि भारतले भने त्यसको विरोध गर्दै सहभागि हुन अस्वीकार गरिरहेको छ । 

– भारतको सुरक्षा चासोलाई नेपालले सहयोग गर्नेः
गोयल र प्रधानमन्त्री ओलीबीचको अर्को समझदारीको विषय भनेको भारतको सुरक्षा चासोलाई सम्बोधन गर्ने विषय छ । नेपाल भारतका बीच हुने हरेकजसो बैठकहरुमा भारतले यो विषय प्राथामिकताका साथ उठाउदै आएको छ । तर नेपालले भारतको सुरक्षा चासो भन्दा पनि नेपाली राष्ट्रिय हित र अखण्डताको विषयलाई प्राथामिकता दिनु पर्दछ । अन्तराष्ट्रिय फोरमहरुमा नेपालले भारतले उठाएका यस्तो चासोका विषयमा समर्थन गर्ने कुरा पनि सो भेटमा उठेको उच्च श्रोतले बताएको छ । 

– ओली सरकार ढाल्न भारत नलाग्नेः
दुई पक्ष बीचमा भएको अर्को सहमति भनेको प्रधानमन्त्री केपी ओली नेतृत्व सरकार निरन्तरताको विषय हो । गुप्तचर प्रमुख गोयलले द्वारिका होटलमा आयोजित भेटवार्तामा नेपाली काँग्रेसका केही नेतासँग आफूहरुले विगतमा नेकपाका अध्यक्ष प्रचण्डलाई ओली सरकार विरुद्ध लाग्न सहयोग गरेपनि प्रचण्डले साथ नदिएको बताएका थिए । नेपालको शान्ति प्रकृयामा समेत भूमिका खेलेका ती नेतालाई गोयलले प्रचण्डले किन हाम्रो कुरा मानेनन् भन्ने जिज्ञासा समेत राखेको श्रोत बताउँछ । 

त्यसपछि भारतीय पक्ष अब, प्रधानमन्त्री ओलीसँगै सहमति गर्ने र उनको सरकार टिकाउने योजनामा पुगेको हो । बरु भारतीय पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको सहकार्यमा प्रधानमन्त्री ओलीलाई जोड दिएका थिएको छ । 

प्रधानमन्त्री निकटस्थहरुले गुप्तचर प्रमुखसँगको यो भेटलाई भारत सरकारले पठाएका विषेश दूतसँगको भेट भनि चर्चा गर्ने गरेको छ । तर यस कुरालाई गोयल भेटको प्रारम्भमा उल्लेख नै गरिएको छैन । राजनीतिक तहले दुई देशबीचको समस्या राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले गुप्तचरसँग गोप्य रुपमा भेट गरेर गलत काम गरेको भनि नेकपाकै नेताहरुले सासर्वजनिक रुपमा भनेका छन् । 

नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने– ‘“केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबीचमा भारतको गुप्तचर सँस्था ‘रअ‘का प्रमुख सामन्त गोयल बिमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता‘ गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सस्थागत जानाकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ व्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो । देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरित समकक्षी झैं औपचारिक वार्ता गरेको छ । नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दूतका  रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो ।तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ, बिदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट र कुटनीतिक मूल्य र आचारसंहिता बिपरितको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ  ।‘

त्यस्तै नेता भीम रावलले पनि ओलीको भेटलाई गलत भनेका छन् । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरित भारतीय गुप्तचर ‘रअ‘ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ।‘

अब के हाेला त नेपालकाे राजनीति ?
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर