• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सचिवालय बैठक एक साता पछि सार्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । बुधबार १ बजेका लागि निर्धारण गरिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक स्थगित गर्न प्रधानमन्त्री केपी ओलीले चौतर्फी पहल गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक रोकेर पार्टी भित्रका समस्याका विषयमा अध्यक्षद्वयको छलफल गर्न पहल थालेका हुन् । पार्टी सचिवालयमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले बुधबारको बैठक स्थगित गराएर छलफल थाल्ने महासचिव विष्णु पौडेल मात्रै हैन पूर्व एमालेतर्फका समेत केही नेतालाई सन्देश पठाएका छन् । बैठक स्थगित गरेर समाधान खोज्नका लागि पहल भईरहेको ओली पक्षीय नेता नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समाचार दैनिकसँग बताए । 

'अहिले पार्टी भित्र भईरहेको अवस्था निक्कै जटिल र संवेदनशील छ,' नेता नेम्वाङले मंगलबार अपरान्ह समाचार दैनिकसँग भने, 'अहिलेको अवस्थाले नेकपाको हीत गर्दैन, यो भनेको विपक्षी दललाई चुनावी एजेण्डा दिएको जस्तो मात्रै छ, पार्टी एकता दुई अध्यक्षकै पहलमा भएको हो । अहिले देखिएका समस्या पनि उहाँहरुको समन्वय र समझदारीमा समाधान हुन्छ ।'

मंगलबार बिहान महासचिव विष्णु पौडेलले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर बैठक स्थगित गर्ने प्रधानमन्त्रीको प्रस्ताव सुनाएका थिए । तर, अध्यक्ष प्रचण्डले बैठक रोक्ने प्रस्ताव स्वीकार गर्न नसकिने, जे गर्नु पर्ने हो पार्टी कमिटीमै गर्नुपर्ने जवाफ दिएर पठाएका थिए । 

मंगलबार साँझ पूर्व माओवादी पक्षका केही नेता समेत बैठक स्थगित गरेर समाधान खोज्नुपर्ने सन्देश अध्यक्ष प्रचण्डका पुर्याउन लागिपरेका छन् । उनीहरुले मन्त्री क्वाटर पुल्चोक पुगेर प्रचण्ड निकटका एक नेतालाई भेटगरि पार्टीलाई फुटबाट जोगाउन अध्यक्षद्वयको सम्बाद गर्ने वातावरण बनाउनुपर्ने प्रस्ताव गरको श्रोतले बतायो । 

तर, अध्यक्ष प्रचण्डसहितको बहुमत पक्ष मंगलबार साँझ सम्म बुधबारको बैठक रोक्ने पक्षमा छैन । सचिवालयको बैठकले नै अर्को बैठकको मिति, समय र एजेण्डा समेत तय गरिसकेको अवस्थामा सचिवालय रोक्न नसकिने बहुमत पक्षको भनाई छ । 

९ सदस्यीय नेकपामा कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेता एकातिर छन् भने प्रधानमन्त्री ओलीसहितका ४ जना अर्को तर्फ छन् । 

बुधबारको बैठक बस्ने पक्षमा भने महासचिव पौडेल र गृहमन्त्री थापा समेत रहेको श्रोतले बतायो । त्यसो हुंदा बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वार पोखरेल मात्रै अनुपश्थित हुन सक्ने नेकपा श्रोतले बतायो । 

यसअघि पनि सचिवालयको बैठकबाटै तय भएको बैठक प्रधानमन्त्री केपी ओलीले एकतर्फी रुपमा स्थगित गरेको थिए । बुधबार पनि त्यसै गरिए त्यो मान्य नहुने बहुमत पक्षको भनाई छ । बुधबार पार्टी सचिवालयको औपचारिक बैठक बस्ने र आवश्यक निर्णय गर्ने बहुमत पक्षका एक सचिवालय सदस्यले बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर