• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यी हुन् ओली–प्रचण्ड मिलाउन सक्रिय दोश्रो पुस्ताका निर्णायक नेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दोस्रो पुस्ताका प्रभावशाली नेताहरुको पहलमा अध्यक्षद्वय सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने दोस्रो पुस्ताका नेताहरु शुक्रबार दिनभर व्यस्त रहे ।

आज बस्ने सचिवालय बैठक अगावै कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफलमा बसेका छन् । दोस्रो पुस्ताका नेताहरुको शुक्रबार गरेको पहलले अध्यक्षद्वय सचिवालय बस्नुअघि ‘वान टु वान’ छलफलमा बस्न तयार भएका हुन् ।

प्रतिवेदनमार्फत् आरोप–प्रत्यारोपमा उत्रिएर बसेका अध्यक्षद्वयलाई मिलाउन शुक्रबारका दिनभर दाेस्राे तहका नेताहरुकाे भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओलीका सबैभन्दा रक्षामा उत्रिने उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सुवास नेम्बाङ दिनभर प्रचण्डसँग छलफलमा जुटे । उनीहरु प्रधानमन्त्री ओलीका भरपर्दा दूतका रुपमा प्रचण्डसँग सहमतिको बोटो पहिल्याउन पहल गरे । 

सोही सहमति जुटाउन ऊर्जा तथा सिचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ शुक्रबार दौडधुपमा देखिए । उनीहरुकै पहलमा प्रचण्ड आज आधा घन्टा ओलीसँग छुट्टै छलफलमा बस्न तयार भएकाे स्राेतले बतायो । प्रधानमन्त्री ओली फेरि सचिवालयमा नआउने हुन कि भन्ने वातारण बनिरहेकोबेला शुक्रबार दोस्रो तहका नेताहरुको पहलले दुवै जना अध्यक्षलाई नजिक पु¥याएको स्रोतले जनायो ।

खुमाल्टारमा प्रचण्ड भेट्न पोखरेल, पौडेल, नेम्बाङ र ज्ञवाली गए । अध्यक्षद्वयको कुरा मिलेर मात्रै सम्भव थिएन । यता माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसालको सक्रियता रह्यो । स्रोतका अनुसार प्रचण्डका तर्फबाट पुनले पहल लिए । 

पुनले पहिले भुसालसँग भेटघाट गरे । सोहीक्रममा नेपालको तर्फबाट भुसालले प्रष्ट धारणा लिएपछि अन्ततः अध्यक्षद्वयको मिलनबिन्दु खोज्न उनीहरु लागे । सोही क्रममा नेपाल पक्षको प्रष्ट धारण आउपछि पुनले पुनः प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुसँग सबै विषय प्रष्ट्याए ।

शुक्रबार भुसालसँग भेट गरेपछि पुनले पौडेलसँग लामो छलफल गरे । नेपाल पक्ष र पौडेलको धारणा पुनले प्रचण्डलाई ब्रिफिङ गरे । प्रचण्ड अझै आश्वस्त बनेनन् । पुनले फेरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग छलफल गरे । पोखरेलसँगको छलफलपछि आजको सचिवालयमा ओली सहभागी हुने र एजेन्डामा केन्द्रित हुने भन्ने सन्देश प्रचण्डसमक्ष पुनले पु¥याएका थिए ।

‘पार्टी विभाजन हुँदैन । अध्यक्षद्वयको प्रस्तावि प्रतिवेदन आज (शनिबार)को सचिवालयमा छलफल हुन्छ । आज दुवै प्रतिवेदनलाई स्थायी कमिटीमा लैजाने सहमति हुन्छ । सबै छिनोफानो स्थायी कमिटीले गर्छ भन्ने लाइनमा अध्यक्षद्वयको ग्रिन सिङ्ग्नल आयो’, स्रोतले समाचार दैनिकसँग भन्यो ।

यसअघि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव बैठकमा छलफल गर्न नसकिने अडान राख्दै आएका थिए । ओलीको उक्त अडानप्रति उपप्रधानमन्त्री पोखरेलले अघिल्लो सचिवालयमा केही असहमति जनाएका थिए । कार्यकारी अध्यक्ष प्रचण्डको सबै भन्दा बढि विरोध र प्रधानमन्त्री ओलीको रक्षामा रहेका पोखरेल एकाएका शुक्रबार प्रचण्ड निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

प्रधानमन्त्री ओलीले दोस्रो पुस्ताकोसमेत खोजी गर्ने प्रस्ताव अघिल्लो सचिवालयमा गरेका थिए । ओलीको उक्त प्रस्तावलाई ऊर्जा मन्त्री पुनले आफ्नो गृहजिल्ला रोल्पा पुगेर अघिल्लो साता अध्यक्षद्वयले स–सम्मान पद छोडे ‘पार्टी, सरकार’को नेतृत्व लिन दोस्रो पुस्ता तयार भएको सार्वजनिक धारणा व्यक्त गरेका थिए ।

पुनले दोस्रो पुस्ता तयार भएको सार्वजनिक धारणा व्यक्त गरेसँगै अर्थमन्त्री तथा महासचिव पौडेललेसमेत ‘सचिवालयका सदस्यहरुले निकास निकाल्न नसकेकाले तल्लो कमिटीमा जाऔं’, भनेका थिए ।
रोल्पाबाट फर्किएपछि पुनको एकाएक आन्तरिक विवाद समाधानका निकास निकाल्नमा जोड्बल देखियो । प्रधानमन्त्री ओलीकोसमेत अलिक बढि विश्वास पात्रमा पर्ने पुनको शुक्रबारको भेटघाटलाई अर्थपूर्ण हेरिएको स्रोतले बतायो ।

‘पार्टीभित्रको विवाद ओली–प्रचण्डबीचको मात्रै होइन । अहिले एजेन्डाका रुपमा प्रचण्ड–नेपाल एक ठाउँमा छन् । पुनले नेपाल पक्षको आधिकारिक धारणासमेत लिएर भुसालसँग पटक–पटक छलफल गरे’, स्रोतले भन्यो– ‘ओलीका खास विश्वास पात्रहरुलाई समेत प्रचण्ड र नेपालको तर्फबाट धारणा राखेपछि ओली सचिवालयमा बस्न तयार हुनुभएको हो । यसमा प्रचण्ड पनि आश्वस्त देखिए ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर