• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महाधिवेशनको मुखैमा एमाले : सुसुप्त तर सक्रिय चार गुट

काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशनको संघारमा छ । १० देखि १२ मंसिरसम्म चितवनमा महाधिवेशन आयोजना गरेको छ । यो महाधिवेशन विचार र संगठनमा भन्दा पनि पाँच बर्षसम्म एमाले हाक्ने नेतृत्व छनौट गर्ने छ । 

सामान्यतयाः अहिले सम्म छानिएका महाधिवेशन प्रतिनिधिहरुको रुप रंग हेर्दा अध्यक्ष केपी ओली र उनले चाहेका व्यक्तिहरु मात्रै जित्ने र नचाहेका हार्ने देखिन्छ । किन भने स्थानीय तहहरुबाटै प्रतिनिधिहरु त्यसैगरि छानिएका छन् । 

तर यस्तो एकलौटी अवस्था भत्काउने सपना बोकेर एमाले भित्र अध्यक्ष ओली विरुद्ध गुटहरु सुसुप्त रुपमा सक्रिय हुन थालेका छन् ।

९ भदौमा एमाले विधिबत रुपमा विभाजन भएयता अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौति दिने कोहि देखिदैन । किन भने विरोधीहरुलाई उनले पाखा लगाईसके । यदि कसैले ओली विरुद्ध उम्मेदवारी दिएपनि त्यसले खासै अर्थ राख्ने देखिदैन । तर एमालेमा बाहिर नदेखिएपनि भित्र भित्रै तीन गुट समानान्तर रुपमा चलिरहेको एक केन्द्रीय सदस्यले बताए । 

वडादेखि महाधिवेशन प्रतिनिधिसम्म सर्वसम्मत चयन गरीरहेको एमालेले महाधिवेशनबाट पनि नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने भनिरहेको छ । प्यान बनाएर उम्मेदवारी दिन नपाउने घोषणा गरेको छ । 

एमाले विभाजनमात्र होइन । एमालेमाथि धेरै आरोपहरु पनि छन् । एमालेबाट प्रधानमन्त्री बनेका ओली नेकपा हुदै पुन एमालेमा पुगेका छन् । यो हुनमा ओली प्रमुख कारक भएको आरोप लाग्दै आएको छ । दुईतिहाइको संघीय सरकार र ४ वटा प्रदेशमा प्रदेश सरकार ओलीका कारण गुमाउनु परेको एमाले वृत र एमालेबाट बाहिरीएको नेकपा एकीकृत समाजवादी र माओवादीले भन्दै आएका छन् । ओलीका कारण पार्टी विभाजन भएको भन्ने मध्ये अहिले पनि एमालेमा १० जना नेताहरु छन् । 

एमालेमा अहिले सबै भन्दा बढी चटारो महाधिवेशनको छ । दशौं महाधिवेशनको रौनकले एमाले छपक्कै भएको छ । जिल्ला जिल्लाबाट प्रतिनिधि छनौट हुदै छन् । प्राविधिक टोली र प्रचारप्रसार टोली केहि दिन देखि चितवनमा नै छ । 

एमाले महाधिवेशन केन्द्रीत विभिन्न समितिहरु बनाएको छ । ती समितिहरु पनि आआफ्नो काममा व्यस्त छन् । एमाले महाधिवेशनको मिति जति जति नजिकिदै छ त्यति कामहरु पनि तिब्रगतिमा भइरहेको कार्यलय सचिव शेरबहादुर तामाङ बताउछन् । उनले भने ‘महाधिवेशन केन्द्रीत जति पनि समिति बनेका छन् ।ती सबैले आआफ्नो काम गरीरहेका छन् । महाधिवेशन उद्घाटन हुदा सबैले काम फत्ते गरीसक्ने छन् ।’

एमालेमा अध्यक्ष केपी ओलीको विकल्प नभएपनि अन्य १४ पदाधिकारीमा भने झण्डै दोब्बर नेताहरु आकाक्षि छन् । यसको व्यवस्थापनको जिम्मा एमाले र ओलीलाई छ । ओलीका विरुद्ध कोहि न भएपनि र भएका पनि मधुरो उज्यालो जस्तो छ अहिलेलाई । 
एमालेमा अहिले आन्तरिक रुपमा तीन गुट सक्रिय छन् । जसमा प्रमुख नेतृत्वमा पुग्ने भन्दा पनि दोस्रो तहको नेतृत्व र महासचिव हुनेमा गुटहरु सक्रिय रहेका छन् । 

वरिष्ठ उपाध्यक्ष हुनेमा तीन जनाको होडबाजी छ । जसमा महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा र सुवास नेम्वाङ छन् । यी तीन जनामा दुई गुटको प्रतिनिधित्व पोखरेल र नेम्वाङले गर्छन् । पूर्वमाओवादी गुटको नेतृत्व थापाले गर्छन् ।  

ईश्वरा पोखरेल आफू वरिष्ठ उपाध्यक्ष भएर शंकर पोखरेललाई महासचिव बनाउन चाहन्छन् । ईश्वर पोखरेलले जसरी पनि अर्का महासचिवको आकाक्षी विष्णु पौडेललाई रोक्न चाहन्छन् । पौडेल अहिले उपमहासचिव छन् । पौडेलले तत्कालीन नेकपामा पोखेललाई महासचिवबाट हटाएर आफू महासचिव भएका थिए । पौडेल महासचिव भएपछि पोखरेल उनी विरुद्ध अहिलेसम्म लागेका बताइन्छ । जसरी पनि पौडलेलाई महासचिव हुनबाट रोकेर नेकपा हुदा महासचिव खोसेको रिस फेर्न चाहन्छन् । 

नेम्वाङ पनि पोखरेललाई महासचिव बनाएर आफू वरिष्ठ उपाध्यक्षमा जान चाहन्छन् । यसको लागि नेम्वाङले आन्तरिक रुपमा गुट बनाएको बताइन्छ । नेम्वाङपनि ईश्वर पोखरेललाई रोकेर आफू वरिष्ठ उपाध्यक्ष बन्दा शंकर पोखरेल महासचिव हुनु पर्ने तयारीमा लागेका बताइन्छन् । 

एमालेमा एकलाई रोक्न अर्को पक्ष आन्तरिक रुपम सक्रिय रहेका छन् । यसमा पोखरेल र पौडेल पक्ष सक्रिय रहेका छन् । पूर्वमाओवादीहरु पनि अहिले सक्रिय रुपमा लागेका छन् । 

टाउकोमा ओली भएपनि दोस्रो तेस्रो तहका नेताहरुमा भने गुटका कोठे बैठक सुरु भएका छन् । केहि दिन पहिला शंकर पोखरेल, छविलाल विश्वकर्मा, मणि थापा र टोपबहादुर रायमाझीले दरबारमार्गमा कोठे बैठक गरेका स्रोतले समाचार दैनिकलाई बताए । उनीहरुले शंकर पोखरेललाई महासचिव , विश्वकर्मा र रायमाझीलाई उपाध्यक्ष र थापालाई सचिव बनाउने गरेर टिमबनाउने सहमति भएको छ । शंकर पोखरेल पनि जसरी पनि पौडेललाई रोकेर महासचिव हुने दाउमा लागेका छन् । त्यसको लागि उनले पूर्वमाओवादीलाई पनि साथमा लिन थालेको बताइन्छ ।

ईश्वर पोखरेल भने माओवादी र एमाले एकता हुदा पनि एकता हुनुहुदैन भन्दै सार्वजनिक रुपमा बोल्ने नेतामा पर्छन । त्यहि भए इश्वरले अहिलेपनि पूर्वमाओवादीलाई साथ लिन चाहदैनन् । एमाले महाधिवेशनमा पूर्वमाओवादीका केन्द्रीय सदस्य नै २३ जनाजति छन् । 

ओलीसंग पूर्वमाओवादी रुष्ट 
एमाले महाधिवेशन प्रतिनिधिमा नै पूर्वमाओवादीलाई वाइपास गरेको बताइन्छ । महाधिवेशन प्रतिनिधिमा एमालेको ओली पक्षले एकलौटी गरेको भनेर उपाध्यक्ष भीम रावलले नै विरोध गरेका छन् । अझ कैलाली क्षेत्र नं.२ मा त समानान्तर रुपमा प्रतिनिधि छनौट गरेका छन् ओली र रावल पक्षले । 

यता पूर्वमाओवादीबाट पनि आंैलामा गन्न सक्ने गरी प्रतिनिधि छनौट गरेको भन्दै पूर्वमाओवादी नेताहरु ओलीसंग असन्तुष्ट रहेको बताइन्छ । 

ओलीको व्यवहारबाट असन्तुष्ट बनेका पूर्वमाओवादीहरु पनि आफ्नो माग पुरा नभए विद्रोहको तयारीसम्म गर्ने योजनामा रहेको स्रोतले बताए । ओलीले गरेन भने एमालेमा बस्नु नबस्नुमा केहि फरक नहुने स्रोत बताउछ । ओलीले आफू पछि रामबहादुर थापालाई बनाउने सहमति गरेका र अन्य नेताहरुको पनि सहि व्यवस्थापन हुनु पर्ने नभए बाहिरीने योजनामा रहेको एक नेताले बताए । 

प्रतिनिधि छनौटमा नै पूर्वमाओवादीलाई किनार पारेको भन्दै तल्लो तहका नेताहरुले माथिल्ला नेताहरुसंग गुनासो गरेका छन् । पूर्वमाओवादीलाई हरेक निर्वाचन क्षेत्रबाट न्युनतम एक–एक जना प्रतिनिधि दिने सहमति भएको बताइन्छ । जसमा पार्टी, जनवर्गीय संगठन र आदिबासी जनजाति र दलित बाहुल्य क्षेत्रमा पनि त्यहि अनुसार प्रतिनिधि दिने सहमति भएपनि अहिले आएर ओलीले त्यसो नगरेको एक नेता बताउछन् ।  

वरिष्ठ उपाध्यक्ष र सचिवमा दाबी 
एमालेले यसलाई एकता र सहमतिको महाधिवेशन भएको दाबी गरेका छन् । अहिले एमालेमा पूर्वमाओवादी समूहका २५ जना केन्द्रीय सदस्य छन् । महाधिवेशनबाट २५ जना नै केन्द्रीय कमिटीमा समेटीनु पर्ने र वरिष्ठ उपाध्यक्ष ,उपाध्यक्ष र सचिव पनि पाउनु  पर्ने माग पूर्वमाओवादीको रहेको एक स्थायीक कमिटी सदस्यले बताए । 

ती नेताले भने ‘अहिले हामी केन्द्रीय कमिटीमा २५ जना छौ । यसको निरन्तरता र वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव चाहिन्छ त्यो भएन भने हामी महाधिवेशन भन्दा पहिला नै सोच्न बाध्य हुने छौ ।’

माधवकुमार नेपाललाई छोडेर एमालेमा नै बसेका १० नेताहरुको पुरै गुट एक जुट नभएपनि बहुमत नेताहरु एक रहेको बताइन्छ । 

यो गुटले सकेसम्म ओलीलाई नै अध्यक्षमा निर्विरोध हुनबाट रोक्ने । नसके महासचिवदेखि तल प्यानल बनाएर उम्मेदवारी दिने योजना रहेको उनी निकट केन्द्रीय सदस्य बताउछन् । यी १० नेताहरु सकेसम्म एक जुट भएर जाने तर कोहि ओली पक्षमा गएमा पनि ओलीले उठाएका सबै पदाधिकारीका पदमा सहज रुपमा नछोड्ने योजनामा रहेको बताइन्छ । 

ओलीले आफूहरुलाई पाखा लगाएर पदाधिकारी निर्विरोध चयन गरे पनि उम्मेदवारी दिने र मिलाएर लगेपनि आफूले चाहेको पद माग्ने योजनामा रहेका बताइन्छ । ओली पनि अहिले नै उनीहरुलाई चिडाएर जान सक्ने अवस्थामा छैनन् । एमाले विभाजन भएको छ । त्यसैमा लगतै निर्वाचन आउदै छ । त्यहि भएर पनि ओलीसकेसम्म मिलाउने योजनामा भएपनि १० जना नेताहरु भने सके ओलीलाई सहयोग गर्ने नभए विरुद्धमा सक्रिय रहेने तयारीमा रहेको बताइन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर