• २०८१ माघ १३ आइतबार
  • Sunday, 26 January, 2025

ओली क्याविनेटमा 'काण्डधारी' ७ मन्त्री !

काठमाडौं । हुन त प्रधानमन्त्री केपी ओलीको नियुक्तिलाई लिएर नै सर्वोच्च अदालतमा रिट दायर भईसकेको छ । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका ओलीको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । 

अर्कातर्फ अघिल्लो प्रधानमन्त्री कार्यकालमा गिरीबन्धु चिया बगानको जग्गा हिनामिनामा एमाले अध्यक्षसमेत रहेका ओली पनि मुछिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त सार्वजनिक रुपमा नै गिरीबन्धु चिया बगानको मुद्दामा ओलीलाई आरोपित गरेका थिए । 

विष्णु पौडेल–
ओली क्याविनेटका एमाले तर्फका सवैभन्दा सिनियर मन्त्री हुन् उनी । कांग्रेस एमाले गठबन्धन सरकारले देशको अर्थतन्त्रको जिम्मा नै विष्णु पौडेललाई दिएको छ । तर उनै पौडेललको विगत हेर्ने हो भने छवि स्वच्छ छैन । पौडेल नेपालकै चर्चित बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा जोडिएका छन् । 
पौडेलका छोराले उक्त विवादित जग्गा किनेका थिए । तर पछि विवादमा मुछिएपछि फिर्ता गरेको भन्दै उनलाई सफाइ दिइएको थियो । 

शरतसिंह भण्डारी–
शरतसिंह भण्डारी नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै मन्त्री हुने व्यक्ति हुन् । पञ्चायतकालदेखि राजतन्त्र हुँदै गणतन्त्रमा पनि पटक पटक मन्त्री बनेका उनको कार्यसम्पादन भने उल्लेख्य छैन । अघिल्लो मन्त्रिपरिषदमा पनि श्रम तथा रोजगार मन्त्रालय सम्हालेका उनी देशमा रोजगारी सृजना गर्ने भन्दा पनि म्यानपावर व्यवसायीसँग कमिसन खाएर युवाहरुलाई विदेश पठाउन प्रोत्साहन गर्ने मन्त्रीका रुपमा परिचित छन् । अघिल्लो कार्यकालमा भण्डारीपछि मन्त्री बनेका रास्वपाका डीपी अर्यालले मन्त्री भण्डारीका निर्णयहरु नै खारेज गरिदिएको थियो । 

यसअघि श्रममन्त्री हुँदा गत पुसमा उनले वैदेशिक रोजगारमा जाने युवाहरुले लिनपर्ने अभिमुखिकरण तालिम शुल्क सात सय बाट बढाएर दुई हजार एक सय पुर्याईएका थिए। उनले बढाएको सो शुल्क प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खारेज गरिदिएका थिए। 

उनी सो योजना अगाडि बढाउनकै लागि दोहेरिएर श्रम मन्त्रालयमा आएका छन्। साथै मन्त्री भण्डारीले अभिमुखिकरण तालिम प्रदायकहरुबाट प्रशिक्षण लिएका कामदारलाई सर्टिफिकेसन गर्न छुट्टै नीजी कम्पनी खडा गर्ने तयारीमा छन् । उनले त्यसको लागि जग्गा लिएर आवश्यक तयारी गरिसकेको मेनपावर व्यावसायीहरु बताउँछन् । जसमा उच्च पदस्थ कर्मचारीका आफन्त समेत सेयर होल्डर रहने गरी तयारी भैसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले उनको प्लान चौपट पारिदिएका थिए । सोही कारण पनि भण्डारी जुनसुकै मानेमा श्रममन्त्री बन्न लागि परेका थिए र भैछाडेका छन् ।

आरजु राणा–
आरजु राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती हुन् । अघिल्लो एमाले–माओवादी गठबन्धन तोडिनुको एउटा कारक नै आरजु राणा हुन् भनेर सडकदेखि सदनसम्म चर्को बहस भयो ।

टिकापुर कैलालीमा रहेको सरकारी जग्गा हडपेको काण्डमा आरजुलाई प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । नेपाल प्रहरीको टिम राणालाई टिकापुर जग्गा प्रकरणमा बयानका लागि पक्राउ गर्न जाँदा सूचना चुहिएपछि उनी घर छोडेर बाहिरिएकाले तत्कालिन गृहमन्त्री रवि लामिछानेको पक्राउ गर्ने योजना असफल भएको थियो । सूचना चुहाउने प्रहरी हाल निलम्बनमा परेका छन् । 

नक्कली भुटानी शरणार्थी काण्डमा त आरजुले पैसा बुझेको भन्ने अडियो नै सार्वजनिक भयो । आरजु नजिकका पूर्व गृहमन्त्रीसमेत रहेका नेता बाकृष्ण खाँड यसै काण्डमा पक्राउ नै परे । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने काण्डका प्रमुख योजनाकार बेचन झाले समेत आरजु राणाको नाम लिएको चर्चा भएको थियो ।

सभापति देउवाकै पत्नी राणालाई गिरफ्तार गर्न खोजिएपछि देउवाले ओलीलाई प्रधानमन्त्री अफर गरेर सरकार नै ढालिदिएको निवर्तमान प्रधानमन्त्री प्रचण्डले नै संसदमा बोलेका थिए । गृहमन्त्री लामिछानेले पनि अनुसन्धानको सुइ कसैको ढोकामा पुगेपछि सरकार ढालिएको भन्दै राणातिर संकेत गरेका थिए ।

अहिले उनै आरजु ओली क्याविनेटको शक्तिशाली परराष्ट्रमन्त्री बनेकी छन् । 

प्रदीप यादव–
प्रदीप यादवसहितका नेताहरुले अस्ति भर्खरै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेका हुन् । पार्टी विभाजन गरेलगत्तै नयाँ अशोक राइ नेतृत्वको जसपाबाट स्वास्थ्यमन्त्री बनेका उनी मन्त्रालय सम्हालेको छोटै समयमा विवादमा आएका थिए । विधि र प्रकृया नाघेर कर्मचारीहरुलाई जिम्मेवारी दिने र त्यस्ता कर्मचारी मार्फत स्वास्थ्य मन्त्रालयमा अनियमितताका काम गरेको आरोप यादवमाथि छ । उनी मन्त्रीहुनु अघि सार्वजनिक लेखा समितिमा हुँदा पनि निर्विवाद सांसद भने होइनन् । 

बलराम अधिकारी–
एमालेका कपिलवस्तुका सांसद बलराम अधिकारी यस अघि प्रचण्डको कार्यकालमा पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नै थिए । 

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका लागि राखेको यस मन्त्रालयबाट कतिपय विवादित देशभरका जग्गा सल्टाउन खोजिएको कतिपयको आरोप छ । यस अघि एमाले नेतृ पद्मा अर्यालले यही मन्त्रालय सम्हालेका बेला झापाको गिरीबन्धु चिया बगान काण्ड भएको थियो । 

नवलकिशोर साह सुडी – 
नवलकिशोर साह सुडी यस अघि मधेश प्रदेशका स्वास्थ्य मन्त्री भइसकेका थिए । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका सुडीले मधेशको मन्त्री हुदा आफ्नै छोरा शैलेश साह सुडी मेयर रहेको हनुमान नगरका अनियमित ढंगले बजेट पारिदिएको र त्यहीबाट अनियमितता गरेको आरोप लागेको थियो । 

दिपक खड्का–
कांग्रेस नेता दीपक खड्का पनि सरकारी जग्गा र सम्पत्ती कौडीको भाउमा हडपेर करोडौं कमाउने धन्दामा मुछिएका मन्त्री हुन् ।

उनले कब्जा गरेको काठमाडौं लैनचौरस्थित  स्काउटको जग्गा तथा टहरामा काठमाडौं महानगरपालिकाले तालाबन्दी गरेको छ । सरकारी जग्गा कौडीको भाउमा लिएर व्यापारिक प्रयोजनमा  प्रयोग गरि करोडौं असुल्ने काम उनले गरेका छ । 

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का पूर्वखानेपानी राज्यमन्त्री पनि हुन् ।

उनमाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ ।

यस्तो बन्याे ओलीकाे मन्त्रिपरिषद्ः

प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय

विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय

पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

रमेश लेखक – गृह मन्त्रालय

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आरजु राणा – परराष्ट्र मन्त्रालय

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय

प्रदीप यादव – खानेपानी मन्त्रालय

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मानवीर राई – रक्षा मन्त्रालय

दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर