• २०८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024

सत्तामा एमाले, सडकमा पनि एमालेः आज शक्ति प्रदर्शन गर्दै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले सडकमा पनि ओर्लने भएको छ । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ ।  

एमालेले काठमाडौंको दरबारमार्गमा जागरसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जनसभा गर्न लागेको हो ।

जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभामा एक लाख मानिस उतार्ने एमालेको लक्ष्य छ । 

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुनेछ । 

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको जानकारी दिएका छन् ।

एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए ।

‘नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं ।

 त्यसका लागि थप ५-६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं,’ उनले भने । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने छन् । त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए।

‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ। कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ आचार्यले बताए ।

सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर