'बा'हरूको शासनमा अस्तित्व र अधिकार खोज्ने छोराछोरीलाई गोलीले भुटे

काठमाडौँ । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सरकारद्वारा एकतर्फी बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनुपर्नेलगायत मागसहित ‘जेन–जी’ समूहले सोमबार गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गर्दा १९ जनाको ज्यान गएको छ ।
‘जेन–जी’ को प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले गोली प्रहार गर्दा काठमाडौंमा १७ र सुनसरीमा २ जनाको मृत्यु भएको हो । प्रहरी दमनमा घाइते भएका मध्ये ४ सय २२ जनाको विभिन्न १४ अस्पतालमा उपचार भइरहेको छ भने १० जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । झडपमा परी ७१ जना सुरक्षाकर्मी पनि घाइते छन् ।
प्रहरीको गोली प्रहारबाट घाइते भएकाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसी शिक्षण अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार ट्रमा सेन्टरमा मृत्यु भएकामा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, उमेर, ठेगाना नखुलेका गौरव जोशी, वनस्थली डेरा गरी बस्ने २६ वर्षीय ईश्वरबहादुर अधिकारी छन् भने अन्य दुई जनाको नाम, ठेगाना खुलेको छैन ।
सिभिल अस्पतालमा मृत्यु भएकामा अर्घाखाँचीका १८ वर्षीय निर्मल सारू मगर र नाम, ठेगाना नखुलेका अन्य २ जना छन् । केएमसी शिक्षण अस्पतालमा मृत्यु भएकामा ठेगाना नखुलेका २२ वर्षीय सुभाष बोहरा र काठमाडौं वनस्थलीका ३० वर्षीय सौरभकिशोर श्रेष्ठ छन् । एभरेस्ट अस्पतालमा मृत्यु भएका ३ जना, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका २ जना र त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका १ जनाको भने नाम, ठेगाना खुलेको छैन ।
प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित काठमाडौं र उपत्यका बाहिरका १४ वटा अस्पतालमा गरी ४ सय २२ जना घाइते उपचाररत छन् । घाइते १० जना भने उपचारपछि डिस्चार्ज भएका छन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीका ५५ र सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् । प्रहरीको गोली प्रहारबाट सञ्चारकर्मीसमेत घाइते भएका छन् । कान्तिपुर टिभिका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र अर्का पत्रकार शम्भु दंगाल घाइते छन् ।
प्रदर्शन हिंसात्मक बनाएको आरोपमा प्रहरीले काठमाडौंसहित विभिन्न ठाउँबाट ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस