• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपा : धुम्बाराहीको कार्यालय पेरिसडाँडा सार्न मिल्दैन ? 

नेकपा भन्छ – ‘भाडामा बस्न नि नपाउनु ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार एक पत्रकार सम्मेलन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुख्यालयमा भएको जग्गा सरकारी भएको भन्दै आपत्ति जनायो । पत्रकार सम्मलनमार्फत प्रवक्ता विश्वप्रकाश शर्माले गल्ती गरेकोमा माफी माग्दै पार्टी कार्यालय सार्न सुझाव समेत दिए । 

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकता भएसंगै बनेको नेकपाको मुख्यालय धुम्बाराहीमा छ भने पार्टीको जनवर्गीय संगठनहरुको कार्यालय पेरिसडाँडामा छ । पार्टी एकताको केही दिनमा नै पार्टीका शीर्ष नेताहरुले दुवै कार्यालयको अनुगमन गरेर पार्टीको मुख्यालय धुम्बाराहीमा नै राख्ने निर्णय गरे ।

हाल पार्टीका अधिकांश बैठक, पार्टीसंग सम्बन्धीत कामहरु धुम्बाराहीबाट नै हुने गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि नेकपाको कार्यालय जस्तै भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्थता र सहजता हेरे पार्टीका विभिन्न बैठक, छलफल र अन्य गतिविधि बालुवाटारमा नै हुने गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार नै व्यक्तिको नाममा भएको समाचार बाहीरिएलगत्तै देशका विभिन्न ठाउँमा सरकारी जग्गाको दुरुपयोग गरेर बनाइएका भवन तथा व्यक्तिको नाममा भएका अन्य खाली जग्गाको पर्दाफास हुन थाले । 

सत्तारुढ पार्टी नेकपाको मुख्यालय रहेको धुम्बाराहीस्थित पसाङ ल्हामु स्मृति प्रतिष्ठानको नाममा रहेको घरमा छ । सरकारी जग्गामा बनेको उक्त घरमा प्रतिष्ठानले  ०७२ देखि नेकपालाई भाडामा लगाउँदै आएको छ । तर, सामाजिक कामका लागि दिएको यस्तो जग्गा तेश्रो पक्षलाई भाडा वा कुनै पनि तवरले दिन नमिल्ने ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ छ । 

सोही नियमको अधिनमा रही नेकपाको धुम्बाराही कार्यालयमाथि नैतिक प्रश्न उठेको हो । त्यसो त नेकपाका लागि अन्य सहज विकल्प पनि छन् । 

सत्तारुढ नेकपाको दुई कार्यालय छन् । 

पार्टी एकता गरेर एक बनेको नेकपाको एक कार्यालय सरकारी जग्गामा हुँदाहुँदै सत्तारुढ पार्टीको कार्यालय आफ्नै जग्गामा किन सर्दैन ? 

पूर्वमाओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय रहेको पेरिसडाँँडास्थित भवन र जग्गा नेकपाको स्वामित्वको हो । यसअघि बल्खुमा रहेको एमाले कार्यालय ०७२ को भूकम्पपछि धुम्बाराही सारिएको थियो । बल्खुस्थित पार्टी कार्यालय बन्न नसकेको बेला सरकारी जग्गामा रहेको भवनमा सत्तारुढ पार्टी कार्यालय नै राख्नु कत्तिको जायज हो ? 

अथवा, कुनै विकल्प नै नभएको हो र ?

नेकपाका नेता भन्छन्–‘कांग्रेसले केही विषय नपाएर कार्यालयको विषय उठायो’

‘पार्टी एकतापछि समान विचारधारा राख्दै अघि बढिरहेको नेकपामा आफ्नै स्वामित्व रहेको पेरिषडाँडामा छ । तर, पार्टी कार्यालयका लागि किन उपयुक्त ठानिएको छैन ?’ नेकपाका प्रभावशाली नेता वेदुराम भुसाललाई समाचार दैनिकल सोध्यो । 

जवाफमा भुसाल भन्छन–‘०७२ सालको भुकम्पपछि नेकपाले भाडा तिरेर बसेको हो । यदी प्रतिष्ठानले गल्ति गरेर भाडामा लगाइएको हो भने कार्यालय सार्न नेकपा तयार छ । महासचिवज्युले विज्ञप्तिमार्फत नै भनिसक्नु भएको छ ।’

कुनै एजेण्डा नपाएर प्रतिपक्षी दल कांग्रेसले नेकपा कार्यालयको विषय पत्रकार सम्मेलन गरेर उजागर गरेको नेता भुसालको भनाई छ । 

‘महासचिव ज्युले यदी सरकारी जग्गामा रहेको भवनमा पार्टी कार्यालय रहेको छ भने त्यहाँबाट सार्ने भनिसक्नु भएको छ । अब यो विषयलाई उजागर गर्नु आवश्यक छैन् ।’ उनले भने– ‘की भाडा तिरेर पनि बस्न नपाइने भन्नुपर्यो, नेकपाले मासिक भाडा तिरेर बसेको कार्यालय यदी सरकारी जग्गामा छ भने सार्नपर्छ ।’

नेकपाका एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पूर्व एमाले खेमालाई पूर्व माओवादीको हेडक्वाटर पेरिसडाँडा जान त्यति रुची लाग्दैन । विभागीय संगठनको कार्यालय बनाएर थान्को लगाएको नेकपाकै समित्वमा रहेको पेरिषडाँडामा नै पार्टी कार्यालय हुनुपर्ने पक्षमा पूर्वमाओवादी निकट नेताहरु रहेका छन् । 

धुम्बाराही विवाद
सरकारी जग्गाको चरम दुरुपयोग गरी विभिन्न व्यक्तिले जग्गा वा भवन आफ्नो नाममा बनाइरहेको भनेर समाचार आइरहेको बेला, नेकपा मुख्यालय रहेको धुम्बाराही पनि यो विवादबाट मुक्त हुन सकेन् । 

नेकपाका महासचिव समेत रहेका सचिवालय सदस्य विष्णु पौडेललको नाममा बालुवाटारको जग्गा रहेको खबर बाहीरिएको केही समयमा धुम्बाराहीको जग्गा पनि सरकारी रहेको खुल्न आएको थियो । 

‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन भइरहेको छ ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चान गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन् ।

पार्टी महासचिव पौडेलले यदी नियमविपरित संचालनमा रहेको भवनमा पार्टी कार्यालय रहेको हो रहेछ भने पार्टी कार्यालय सार्ने समाचार बाहीरिने बित्तिकै बताएका थिए । उनले भनेका थिए–‘हामीले प्रतिष्ठानसंग सम्झौता गरेर लिएका हौं । यदी सरकारी जग्गा दुरुपयोग गरेर भाडामा लगाएको हो भने हामी अन्यन्त्रै सर्छौं । सरकारी तथा सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नेलाई कारबाहीका लागि सरकारलाई भन्छौं ।’

किन सर्दैन नेकपा कार्यालय ? 
सरकारी जग्गामा सत्तारुढ दलकै कार्यालय भइरहँदा यतिबेला सरकार नै मौन छ । 

सरकारी जग्गाको दुरुपयोग गर्दै बनाएको भवनमा पार्टीको मुख्यालय राख्न नेकपालाई कुनै कर छैन् । किनभने पर्याप्त जग्गासहितको भवन पेरिसडाँडामा पनि छ । 

प्रतिपक्षीको सुझाव : छिटो भन्दा छिटो पार्टी कार्यालय सार्नु
नेकपा कार्यालय सरकारी जग्गामा रहेको भन्ने समाचार बाहीरिनेबित्तिकै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गल्ति सुधार्दै पार्टी कार्यालय सार्न सुझाएका थिए ।

संघीय संसदको प्रतिनिधिसभामा समेत प्रतिपक्षी दलले यस विषयमा आवाज उठाएको थियो । २१ साउनमा बसेको प्रतिनिधिसभामा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तापक्षलाई चैन अरुलाई ऐन लागू गरिएको भन्दै विरोध जनाएकि थिइन् । 

बिहीबार मात्र प्रवक्ता शर्माले सरकारी जग्गाको भोगचलनको नीति नियमविपरित नेकपाले केन्द्रीय कार्यालय राखेकोमा आपत्ति जनाएका हुन् । उनले त्यो झमेलाबाट तत्काल बाहीर निस्कन सत्तारुढ दललाई आग्रह गरेका छन् । 

उनले नीति, नियम र नैतिकता विपरीत सरकारी जग्गामा नेकपाको कार्यालय रहेको समाचारले कांग्रेसलाई अचम्मित र दुःखित तुल्याएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर