• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

त्रिवि नेपाली विभागमा चरम गुटबन्दी : वरिष्ठ प्राध्यापकद्वयद्वारा राजीनामा

विभागीय प्रमुख नियुक्तिमा सुधा त्रिपाठीको कार्यशैलीप्रति असन्तुष्टि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा विभागीय प्रमुखको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै दुईजना वरिष्ठ प्राध्यापकले राजीनामा दिएका छन् । विभागका वरिष्ठप्राध्यापक डा. महादेव अवस्थीले आइतबार कार्यकारी परिषद/ रजिस्टार समक्ष राजीनामा बुझाएका हुन् । त्यसैगरी, प्रा.डा. मोतीलाल पराजुलीले पनि मंगलबार राजीनामा बुझाएका छन् । अझै राजीनामा दिनेकाे क्रम रहेको बुझिएको छ ।

विभागका तत्कालीन प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले अवकाश पाएसँगै नेपाली विभागमा विभागीय प्रमुखको पद खाली थियो । तर, त्रिविले वरिष्ठ प्राध्यापकलाई प्रमुख नबनाई धेरै जुनियर कृष्णप्रसाद घिमिरेलाई विभागीय प्रमुखको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले धमाधम राजीनामा दिएका हुन् । 

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलका अनुसार सुधा त्रिपाठीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा बुझाएका हुन् । समाचार दैनिकसँगको कुराकानीका क्रममा उनले भने, ‘विगत लामो समयदेखि काम गरिरहेका प्राध्यापकको भूमिका याद नगरी विभागीय प्रमुख बनाएपछि उहाँहरूले राजीनामा दिनुभएको हो ।’

शैक्षिक रूपमा पनि अब्बल हुँदाहुँदै उनीहरूको क्षमता र कार्यअवधिलाई ध्यानमा नराखी विभागीय प्रमुखको जिम्मेवारी दिएपछि उनीहरूको असन्तुष्टि बाहिरिएको हो । 

‘वरिष्ठता र ज्येष्ठतालाई ख्याल नगरी अपमानजनक व्यवहार भएको अनुभव गरेर अवस्थी र पराजुलीले राजीनामा दिनुभएको हो,’ उनले भने, ‘नेपाली विभागको प्रमुखमा उहाँहरूले मलाई रहन आग्रह गर्नुभएको थियो । मैले आफू वरिष्ठतालाई नाघेर पदमा नबस्ने बताएको थिएँ ।’

त्रिपाठी निमित्त उपकुलपतिमा नियुक्त भएपछि त्यहाँ उनले गरेका कुनै पनि कामको बारेमा धेरैभन्दा धेरै प्राध्यापकहरू असन्तुष्ट रहेको स्रोतले बतायो । दुईजना वरिष्ठ प्राध्यापकहरू हुँदाहुँदै कनिष्ठ प्राध्यापकलाई विभागीय प्रमुख बनाउँदा धेरै असन्तुष्ट छन् । 

वर्षौंदेखि अध्यापन गराइरहेकालाई भन्दा पनि विभागको बारेमा जानकारी नभएकालाई ल्याएर प्रमुख बनाएपछि अपमानित ठानेर आफूले राजीनामा दिएको पराजुली बताउँछन् । समाचार दैनिकसँगको कुराकानीमा उनले भने, ‘विभागीय नियुक्ति राजनीतिक भागबण्डामा सीमित हुँदा त्यसको असर देखिएको छ । वरिष्ठताका आधारमा हुनपर्ने नियुक्ति भएको छैन । व्यक्तिगत रूपमा कुनै समस्या नहुँदा पनि नियुक्ति प्रक्रियाले केही समस्या सिर्जना गरेको हो । 

त्यस्तै, प्रा.डा. महादेव अवस्थि पनी विश्वविद्यालयमा हुनपर्ने प्राज्ञिक वरिष्ठता कायम हुन नसकेपछि अपमानित महसुस गरेर आफूले राजीनामा दिएको बताउँछन् । निमित्त उपकुलपति डा. सुधा त्रिपाठीको कार्यशैली र उनले गर्ने व्यवहार वरिष्ठताको आधारभन्दा बाहिर रहेको उनको भनाइ छ । 

अवस्थीले आफ्नो चाकडी गर्ने चलन नभएको भन्दै उपकुलपति डा. त्रिपाठीलाई चाकडी आवश्यक रहेको आरोप समेत लगाए । उनले भने, ‘यसअघि उपकुलपति हुनुभएका तीर्थ खनियाँ पनि मभन्दा जुनियर हुनुहुन्थ्यो । त्रिपाठी पनि जुनियर नै हो । म उहाँहरूलाई बधाई दिन पनि गइनँ, त्यसको परिणामस्वरूप यो भएको हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर