• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राजपा–समाजवादी एकताको बाधक सरकार, औपचारिक वार्ता हुनै सकेन !

काठमाडौं । मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकताको चर्चा चलेको लामो समय भइसक्यो । यसबीचमा दुई दलबीच धेरै चरणमा अनौपचारिक वार्ता पनि भयो । तर, अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । 

राजपाबाट राजेन्द्र महतो र समाजवादीबाट राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन भए पनि औपचारिक रुपमा वार्ता भएको छैन । एकताका लागि राजपाबाट ठोस प्रस्ताव नआएको समाजवादीका नेताहरूले बताउँदै आएका छन् । राजपाका नेताहरूले भने समाजवादी दलले एकतामा अग्रसरता नदेखाएको आरोप लगाउँदै आएका छन् । राजपाले सरकार छाडेपछि मात्र समाजवादी पार्टीसँग एकीकरण हुने अडान राख्दै आएको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकताको कुरा चल्दासमेत समाजवादीमाथि सरकार छोड्नुपर्ने सर्त थियो । तर, अध्यक्ष उपेन्द्र यादव नै सरकारको उपप्रधानमन्त्री जस्तो महत्त्वपूर्ण हिस्साका रूपमा सहभागी भएकाले सरकार छोड्ने कुरा समाजवादीले सोच्न पनि सकेन । यस विषयमा पछि छलफल गर्दै जाने सर्तमा नयाँ शक्ति र समाजवादीबीच एकता भयो । अहिले सो विषय नै हरायो ।

सरकार छाड्न समाजवादीलाई दबाब

एकताका लागि सरकार छाड्न समाजवादी दललाई दबाब पर्दै गएको छ । समाजवादीभित्र डा. बाबुराम भट्टराई खेमाले पनि सरकार छाड्नुपर्ने बताउँदै उहिल्यैदेखि हो । सरकार छाड्न आएका यिनै दबाबबारे समाजवादी पार्टीले त्यस विषयमा छलफल गर्नका लागि कात्तिक अन्तिम साता केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठकमा एकताका बारेमा विस्तृत रूपमा छलफल हुने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले समाचार दैनिकलाई जानकारी दिए । 

समाजवादी पार्टीको उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीमा यादव स्वयं छन् र इस्तियाक राई सहरी विकासमन्त्री छन् । दुई दलले प्रदेश २ मा भने मिलिजुली सरकार चलाइरहेका छन् । 

सरकारका कारण अड्कियो एकता !

अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच दूरी बढेको छ  । संविधान संशोधन गर्न सहज हुने भन्दै सरकारलाई समर्थन गरेको राजपाले आफ्नो मागप्रति नै सरकार उदासीन भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै हाल प्रतिपक्षीको हैसियतमा छ । अहिलेको अवस्थामा समाजवादीले सरकार छाडे एकता प्रक्रियालाई अघि बढाउन सहज हुने राजपा महासचिव केशव झाले समाचार दैनिकलाई बताए । उनले भने, ‘एकताका बारेमा अनौपचारिक छलफल भइ नै रहेको छ, समाजवादीले सरकार छाड्नेबितिकै एकताको कुरा अघि बढ्छ ।’ तर, समाजवादीका नेता श्रेष्ठले एकताको विषय र सरकारको विषय फरक–फरक भएको बताए । 

औपचारिक वार्तासमेत हुन सकेन

समाजवादी पार्टीका तर्फबाट वार्ता समितिका संयोजक रहेका राजेन्द्र श्रेष्ठले औपचारिक रूपमा एकताका लागि वार्ता नै नभएको बताए । उनले भने, ‘नयाँ शक्तिसँग एकता हुन दुई वर्ष लाग्यो, राजपासँग पनि एकताको कुरा बिस्तारै अघि बढ्छ ।’

संयोजक श्रेष्ठले एकताका लागि आवश्यक वैचारिक, सांगठनिक विषयहरूमा पनि ठोस छलफल नभएको स्वीकार गरे । एकताका विषयमा अहिले नै केही भन्न सकिने अवस्थामा नरहेको उनको भनाइ छ । 

राजपा महासचिव झाले पनि केही विषयमा अनौपचारिक छलफल मात्र भएको जानकारी दिए । उनले नेतृत्व व्यवस्थापन र सैद्धान्तिक विषयमा पहिले नै स्पष्ट हुनुपर्ने भएकाले यस विषयमा अनौपचारिक रूपमा छलफल मात्र भएको बताए । 

दुवै दलको समान हैसियत

तत्कालीन संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टीबीच गत वैशाखमा एकीकरण भई समाजवादी पार्टी निर्माण भएको हो । यसको कार्यकारिणी नेतृत्वमा उपेन्द्र यादव छन् । एक हजार सदस्य रहेको संघीय परिषद् नेतृत्वमा बाबुराम भट्टराई छन्  । 

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो । 

प्रतिनिधिसभामा तत्कालीन नयाँ शक्ति पार्टीको एकततपछि दुवै पार्टीको सांसद संख्या बराबरी छ  । दुवै पार्टीमा १७–१७ सांसद प्रतिनिधिसभामा छन् । प्रदेश २ मा भने राजपाभन्दा चार सिटले समाजवादी पार्टी अघि छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर