विवाहपञ्चमी : अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपतिको सम्मान, राष्ट्रपतिलाई मन्दिरका महन्थको [फोटोफिचर]

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छन् । 

विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि आएका जन्तीको स्वागतमा जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा आयोजित कार्यक्रममा राष्टपति भण्डारीले जन्तीलाई दोसल्ला र फूलमाला लगाई सम्मान गरेकी हुन् । उनले ऋषि विश्वामित्रको भूमिकामा रहेका अयोध्याका सन्त रामेश्वर दासजी महाराज, दशरथको भूमिकामा रहेका कन्हैया दास, साध्वी राधा देवी, साध्वी निलम देवी लगायतका जन्तीलाई सम्मान गरेकी थिइन् । 

सोही मञ्चमा राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले जनकपुरधामको रामानन्दद्वारको प्रतिक दिएर सम्मान गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आईपुगेकी राष्ट्रपति भण्डारीलाई एसिया महादेशकै तेस्रो ठुलो स्मारकको रुपमा रहेको रामानन्दद्वारको प्रतिमा प्रदान गरि सम्मान गरिएको हो । राष्टपति भण्डारीलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मिथिलाको पाग र फूलमाला लगाई राष्ट्रपति भण्डारीलाई सम्मान गरेका थिए भने जनकपुर उद्योग वाणिज्य संघले समेत जानकी मन्दिरको प्रतिक दिएर सम्मान गरेको थियो । 

राष्टपति भण्डारीको कार्यक्रम ढिलो हुने भएपछि उनी सम्बोधन नै नगरी राजधानी काठमाडौँ फर्केकी छन् । सो कार्यक्रममा मिथिला नाट्य कला परिषदका कलाकारहरुले जानकी लिला नामक गीति नाटक प्रस्तुत गरेका थिए । कलाकारहरुले राम जानकीको विवाहसंग सम्बन्धित दृश्य नाटकको माध्यमले देखाउने प्रयास गरेका थिए । 

यस अघि बिहान ११ बजेर २० मिनेटमा जनकपुरधाम आई पुगेकी राष्टपति भण्डारी जानकी मन्दिरमा पूजा अराधना समेत गरेकी थिइन । मन्दिरमै माता सीता र भगवान रामको प्रतिकको रुपमा रहेका किशोर किशोरीलाई पूजा गरेकी थिइन् ।   
कार्यक्रममा सहभागी रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विवाह पञ्चमी महोत्सवले पूर्वी सभ्यता र नेपाल भारतको सम्बन्धलाई अक्षुण राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

पर्यटन मन्त्री भट्टराईले विवाहपञ्चमीले नेपाल र भारतबीचको सम्बन्धलाई कायम राख्न सेतुको रुपमा कायम रहेको बताए । उनले माता सीता र भगवान् रामको सम्बन्ध जस्तै नेपाल र भारतबीचको सम्बन्ध सदैव चिरस्थायी रह्ने बताए । 

जनकपुरधामको विकासका लागि संघ सरकारले प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  मन्त्री भट्टराईले पर्यटकको सहजताको लागि जनकपुरधामबाट पोखरा, पोखरबाट मुक्तिनाथसम्मको हवाईयात्रा सञ्चालन गर्न लागेको जानकारी समेत दिए । उनले मञ्चबाटै नेपालको पर्यटन भ्रमण वर्ष २०२०मा जनकपुरधामका साथै नेपालका अन्य स्थानहरु भ्रमण गर्नका लागि सबैलाई आग्रह समेत गरे  । 

त्यस्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले नेपाललाई विश्वसमक्ष चिनाउनका लागि माता सीताको भूमिका महत्वपूर्ण रहेको बताईन् । विवाहपञ्चमी महोत्सव सांस्कृतिक र पारिवारिक जीवनयापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर