• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

स्थायी समिति बैठकमा नेताहरुको व्यङ्ग्य : ‘आजको बैठकलाई वार्षिकोत्सवको रुपमा लिउँ न’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक बसेको ठीक एक वर्षपछि आइतबार पुनः बस्यो । पार्टी विधानमा प्रत्येक ३ महिनामा स्थायी कमिटीको बैठक बस्नपर्ने प्रावधान भएपनि बैठक बस्न सकेन् । 

निकै लामो पर्खाइपछि आज (आइतबार) बसेको बैठकको सुरुवात नै किन बैठक ढिला भयो ? भन्ने प्रसंगबाट सुरु भयो । नेकपा पार्टी कार्यालय धुम्बाराहीमा झण्डै दु्ईघण्टासम्म बसेको बैठकमा उपस्थित अधिकांश सदस्यहरु बैठक ढिलो आयोजना भएको भन्दै नेतृत्वसंग गुनासो पोख्न थाले । 

बैठक सुरु हुनासाथ सत्तारुढ दलका खरो नेताको रुपमा परिचित स्थायी समिति सदस्य भीम रावल र रघुजी पन्तले बैठक एक वर्षसम्म बस्न नसकेको भन्दै प्रश्न तेस्र्याएका थिए । 

नेकपाको विधानमा स्थायी समिति बैठक प्रत्येक तीन महिनामा बस्ने प्रावधान छ । यद्यपी, यसअघि ०७५ मंसिर २९ गते नै स्थायी समिति बैठक बसेको थियो । उनीहरु दुबैलाई बोल्ने पालो सोमबारका लागि तय भएको छ । तर, लामो समयपछि नेतृत्वसंग स्थायी समितिमा छलफल गर्न पाएका उनीहरु रोकिन सकेनन् । आफ्नो पालो नभएपनि आफूहरु बसिरहेको स्थानबाट सिधै प्रश्न गर्न भ्याए । 

बैठकपछि नेता रावलले भने, ‘बैठक किन एक वर्ष ढिलो भयो ? कसको कारणले ढिलो भयो ? त्यसको समीक्षा हुनुपर्छ भन्ने कुरा मैले उठाएँ’ रावलले भने । 

याे पनि ः 

नेकपा स्थायी समिति बैठक : दुई घण्टा बसेर स्थगित, प्रचण्डद्वारा प्रतिवेदन पेश

जवाफमा अध्यक्ष दाहालले त्यसको जवाफ राजनीतिक प्रतिवेदनमै समावेश गरिएको बताएका थिए । स्थायी समिति बैठक पनि धेरै ढिला सुरु भएको भन्दै कमजोरी भएको उनले बताएका थिए ।

त्यसपछि अध्यक्ष दाहालले बैठकको कार्यसूचीबारे अवगत गराएका थिए । उनले प्रस्तुत गरेको पाँच वटा कार्यसूचीमाथि सामान्य छलफल भएपछि बैठकका लागि एजेन्डाका रुपमा तय भएका थिए ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको प्रस्ताव बैठकले पारित गर्यो । 

वार्षिकोत्सव भन्दै नेतृत्वलाई व्यङ्ग्य
बैठकमा आजभन्दा ठीक एक वर्षअघि धुम्बाराहीमा बसेको स्थायी समिति बैठकको पनि चर्चा भयो । अध्यक्ष दाहालले बैठक सुरु गरेको केहीबेरपछि छलफल हुँदै थियो । 

बैठकको सुरुमा नै नेता रावलले बैठक कीन ढिला भएको भनेर सिधा प्रश्न नै तेस्र्याइसकेका थिए । गत वर्ष मंसिर २९ मैं बैठक बसेको र आज पनि मंसिर २९ नै रहेको भन्दै केही सदस्यहरुले ‘आजको बैठकलाई वार्षिकोत्सवको रुपमा लिउँ न’ भनी नेताहरुप्रति व्यंग्य गरेको एक सहभागिले बताए । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तय गरेका एजेन्डामा छलफल गर्न स्थायी समिति बैठक बसेको हो । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, सरकारको समिक्षा, उपचुनावको समिक्षा, पार्टीका आगामी कार्ययोजनालगायत विषय समेटिएका छन् ।

दाहालले ७ ओटा छुट्टाछुट्टै शीर्षक राखेर बनाएको प्रतिवेदन पेश भएपछि बैठक स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर