• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

ओली–प्रचण्ड भेटले कांग्रेसलाई शंकाः शेखरले देउवालाई भने–‘तपाईंलाई प्रधानमन्त्री दिदैनन्’

काठमाडौं । नेपाली राजनीतिमा विकास भएको नयाँ घटनाक्रमले सत्ता राजनीतिमा नयाँ तरंग सृजना गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका शीर्ष नेताबिच आइतबार साँझ सिंहदरवारमा झण्डै डेढ घण्टा छलफल भएको थियो । 

संक्रमणकालिन न्यायका विषयमा केन्द्रीत भएको भनिएको छलफलमा प्रधानमन्त्रीसँग उनका विश्वास पत्र तथा सल्लाहाकार अग्नि खरेल थिए भने विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपमहासचिव वर्षमान पुन थिए । 

शेरबहादुर देउवासहित प्रधानमन्त्री ओलीले यसअघि बोलाएको अघिल्लो बैठकमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगबारे छलफल गर्ने र ती आयोगमा रहने पदाधिकारीबारे समझदारी बनाउने तयारी थियो । तर माओवादी अध्यक्ष प्रचण्डले त्यो बैठक नै बहिष्कार गरेका थिए । 

आइतबारको बैठकमा देउवा उपस्थित थिएनन् । देउवा नभएको बैठकमा दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षसहितका नेताहरुले छलफल गरेपछि प्रधानमन्त्री पाउने आशमा सरकारलाई काँध थापिदिएको दल नेपाली कांग्रेसमा आशंका जन्मिएको छ ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपमहासचिव जीवन परियार, सभापति शेरबहादुर देउवाकै विश्वास पात्र मानिएका डा. प्रकाशशरण महतलगायतले सरकारबारे कटु आलोचना गरिरहेका बेला ओलीले प्रचण्ड र वर्षमानलाई सिंहदरवारमै बोलाएर भेट्नुलाई कांग्रेका नेताहरुले सत्ता राजनीतिक चलखेलका रुपमा बुझेका छन् ।

किनभने काँग्रेसकै नेता डा. शेखर कोइरालाले सभापति देउवालाई यसअघि नै भेटेर ‘तपाईंलाई ओलीले कुनै हालतमा चुनावको मुखमा सरकारको नेतृत्व दिदैनन्, कम्युनिष्टहरु मिल्छन् र मिलाउन लाग्नेहरु पनि छन्,’ भनेको एक केन्द्रीय सदस्यले समाचार दैनिकलाई बताए ।

डा. शेखरले उदाहरण दिदै राष्ट्र बैंकको एउटा गर्भनर त नदिने ओलीले तपाईंलाई चुनावको मुखमा चुनाव पछि एकल बहुमतको सरकार बनाउन भनेर लागेका ओलीले प्रधानमन्त्री दिन्छन् ?’ भनेर प्रश्न गरेको ती नेताले बताए ।

गभर्नर नियुक्तिलगायतका सत्ता बाँडफाँडका कतिपय विषयलाई लिएर सत्तामा रहेका कांग्रेस र एमालेबीच विवाद भइरहेकाे छ ।  

डा. शेखरको यो कुरा लगायतले सभापति देउवाको मनमा प्रश्न उब्जिएकै थियो, तर आइतबारको दुई कम्युनिष्ट नेताहरुको ‘गोप्य मन्त्रणा’ले कांग्रेस भित्र थप आशंका जन्माएको स्रोतको दावी छ । 

माओवादीले भने आइतबारको भेटलाई संक्रमणकालिन न्यायकै विषयमा आधारित भएर छलफल गरेको बताएको छ ।

बैठक लगत्तै उपमहासचिव वर्षमान पुनले टिआरसीको विषयमा छलफल भएको र प्रधानमन्त्रीलाई सकारात्मक पाएको प्रतिक्रिया दिएका थिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए।

अध्यक्षले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेकाे, जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्षलाई जानकारी गराएको उपमहासचिव पुनकाे भनाइ थियाे ।

पुनले ओली सकारात्मक रहेको भन्नुले पनि माओवादी एमालेबीच दुरी घटेको र त्यसले सत्ता राजनीतिमा असर पार्ने कतिपयको बुझाई छ । किनभने यसअघि माओवादीले संक्रमणकालिन न्यायलाई निचोडमा टुंगो लगाउन ओली नै बाधक रहेको बताउने गरेको थियो । 

अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा वरिष्ठ पत्रकार गोविन्द आचार्यले पदाधिकारीको बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी ओलीसँग टिआरसीको विषयमा केन्द्रीत रहेर समसामयीक विषयमा छलफल गरेको समाचार दैनिकलाई जानकारी दिए । 

माओवादीले यसअघि नेपाली कांग्रेसलाई ठूलो दलको हिसावले सरकार बनाउने हो भने निशर्त सहयोग गर्न तयार रहेको बताएको थियो । तर सभापति देउवाले एमालेसँग सत्ता सहकार्यमा रहेको र ओलीले १४ महिनापछि प्रधानमन्त्री दिन्छु भनेकाले अहिले छलफल नगर्ने प्रतिक्रिया दिएका थिए ।

कांग्रेस भित्रै डा. शेखरलगायतको आग्रहका वावजुत देउवाले अडान नछोडेपछि राजनीतिक बृत्तमा फरक कोणबाट छलफल सुरुभएको हुनसक्ने कतिपय विज्ञले विश्लेषण गरेका छन् । 

राजनीतिक रूपमा हुने छलफल र भेटवार्ताहरूमा उनीहरूकाे बडि ल्याङग्वेजले पनि धेरै कुरा भनिरहेकाे हुन्छ । तत्कालिन नेकपाताका समान हैसियतका अध्यक्ष प्रचण्डकाे कुर्सी नै हटाइदिएका  ओलीले सिंहदरबारमा भएको भेटमा भने प्रचण्डलाई महत्व दिएर प्रधानमन्त्रीको कुर्सी छाडेर तल संगै बसेका थिए।

ओलीले प्रचण्डसँग मात्रै हाेइन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि संवाद अघि बढाएका छन्। ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बालुवाटार नै पुगेपछि दुई पार्टीबीचको तिक्तता घटेको छ ।

एमालेमा विद्यादेवी भण्डारीले वाम ध्रुविकरणकाे प्रयास गरिरहेका बेला विकसित भएकाे यस्ताे घटनाक्रमले नयाँ नयाँ राजनीतिक काेर्ष तयार भइनसकेपनि सुरूवात भएकाे रूपमा बुझिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर