• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लकडाउनमा गाउँमै रोजगारी : गौरादहका युवामा देखिएको उत्साह [फोटोफिचर]

झापा । लक डाउन छ । गाउँदेखि शहरसम्म, फोनदेखि च्याटसम्म हजिो आज धेरैले हालखबर सोधखोज गर्दा भन्ने गरेका छन्, ‘खायो, बस्यो ।’

यो शब्द धेरैको साझा बनिसक्यो । कतिले यो लकडाउनको समयलाई फजुल खर्च फाले त कतिले अवसरको रुपमा यसलाई सदुपयोग पनि गरे । वर्षैंदेखिको एकतर्फि दैनिकीदेखि वाक्क भएका कतिपयले यो समयलाई ‘रिफ्रेशमेन्ट’ को समयको रुपमा पनि बिताइरहेका छन् । 

सरकारले लकडाउन लम्ब्याउँदै जाँदा पर्दै गएको प्रत्यक्ष असर, श्रमजीवि वर्गलाई पर्यो । लकडाउनकै कारण कतिपय विकासे आयोजनाहरु पनि बन्द भए । कतिपय आयोजनाहरु बन्द हुने अवस्थामा पुगेका छन् त कतिपयले घिस्रिँदै पाइला सारिरहेका छन् । कोभिड १९ को महामारीको बेलामा मजदुर नभएका कारण पनि कतिपय आयोजनाहरु चल्न सकेका छनैन् । 

सरकारले मजदुरहरुका लागि राहतको प्याकेज नै घोषणा गर्यो । सरकारमार्फत सरकारले घोषणा गरेको राहत प्याकेजभन्दा केही फरक रहेर पनि स्थानिय तहले सोचेको देखिएको छ । झापाको गौरादह नरपालिकाले राहतभन्दा ‘रोजगारी’लाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारेको छ । 

नगरपालिकाले वडा नम्बर ७ मा रहेको ग्वालडुब्बास्थित त्रिवेणी टोलका युवाहरुलाई लक्षित गरि अहिले रोजगारी प्रदान गरिरहेको छ । त्रिवेणी टोल विकास संस्थाको पहलमा नगरपालिकाको सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ती युवाहरुलाई अहिले आफ्नै टोलमा खानेपानीको धारा जडानका लागि पाईप बिच्छ्याउने काममा लगाईएको छ । 

गाउँमा बिदेशबाट फर्किएर आएका र फेरि जान नपाएका, त्यस्तै, लकडाउनका कारण अन्य काम, ब्यापार, ब्यवसाय गर्न नपाएकाहरुलाई लक्षित गरेर टोल बिकास संस्था मार्फत उनीहरुलाई रोजगारी दिईएको छ । 

टोलका यी युवाहरु अहिले ११ सय मिटर पाईप बिच्छ्याउनका लागि खाडल खनिरहेका छन् । उनीहरुलाई यो काम गरे बापत दैनीक ५ सय ४५ रुपैँया भत्ता समेत उपलब्ध गराउँदै आइएको छ । काममा खटिएका स्थानीय युवा बद्री संग्रौला यतिबेला लक डाउनको सदुपयोग पनि भएको र गाउमै रोजगारीपनि पाएको भन्दै खुसी व्यक्त गरे ।

आफ्नै घरमा खानेपानीको धारा पुर्याउनपनि पाईने अर्कोतिर काम गरेबापत दैनीक ज्याला पनि पाउने भएपछि स्थानीय युवाहरु खुसीले काम गरिहरेका छन् । बेरोजगार भएर बसेका सोही टोलका दिनेश बुढाथोकीपनि आफ्नै घर आँगनमा बिकासपनि हुने र आफुलेपनि रोजगारी पाएपछि आफुहरुलाई खुसी लागेको प्रतिक्रिया दिन्छन् । 

कतै मजदुर अभाबमा बिभिन्न बिकासे योजनाहरु अहिले अलपत्र परिरहेका छन् । कतै युवाहरु रोजगारी गुमाएर र रोजगारी नपाएर लक डाउनका बेला घरमै यो समयलाई खेर फालिरहेका छन् । 

यस्तो अवस्थामा आवश्यक सुरक्षाको सबै उपाय अपनाएर वेरोजगार भएकाहरुलाई यसरी नै काममा लगाउने हो भने हामीले भनेजस्तै यो लक डाउनलाई अभिसाप हैन अवसरको रुपमा बदल्नपनि सकिने गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर