• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अयोध्यामा राम मन्दिरको शिलान्यास भएपछि जनकपुरमा भव्य दिपोत्सव (फोटो फिचर )

जनकपुरधाम ।भारतको अयोध्यामा वर्षौको प्रतिक्षापछि राम मन्दिरको शिलान्यास गरिएको खुशियालीमा जनकपुरधाममा भव्य दीपोत्सव भएको छ । माता सीताको ससुराली अयोध्यामा मन्दिरको शिलान्यास भएको अवसरमा खुशी व्यक्त गर्दै जनकपुरधामको जानकी मन्दिर सहित नगरमा दीपावली मनाइएको हो ।

 

 भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँदीको ईटा राखेर राम मन्दिरको शिलान्यास गरेका हुन् । सोही अवसरमा जानकी मन्दिरमा सीतारामको नारा सहित जानकी मन्दिरका पूजारीहरुले मन्दिर परिसरभरी दीप प्रज्वलन गरेका थिए । 


यता जानकी चोकका युवाहरुले समेत चोकमा जय श्री सीयारामा लेखिएको रंगोली बनाएर दीप प्रज्वलन गरे । अयोध्यामा रामको मन्दिरको शिलान्यास हुनु सम्पूर्ण मिथिलावासीका लागि खुशीको अवसर रहेकोले आफूहरुले दीपोत्सव गरेको युवा सुशिल कर्णले बताए । युवाहरुले चोकमा रंगोली बनाउनुका साथै सडक पेटी भरी दीप प्रज्वलन गरेका थिए ।  


यस अघि अयोध्यामा राम मन्दिरको शिलान्यास भई रहँदा जानकी मन्दिरमा रामधुन बजाइएको थियो । राम मन्दिरको भूमि पुजनको खुशियालीमा जानकी मन्दिरमा भजन किर्तन भएको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए । 
राम मन्दिरको भूमि पुजनमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव समेत सरिक भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर